वीरगञ्ज । अमेरिका र इरानबिच पाकिस्तानको मध्यस्थतामा भएको सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख सामुद्रिक मार्ग स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन हुने घोषणा गरेसँगै सोमबार एसियाली बजार खुलेको प्रारम्भिक कारोबारमै तेलको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो ।
विश्वव्यापी तेलको मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य ४ प्रतिशतले घटेर प्रतिबारेल ८३.८१ अमेरिकी डलरमा झरेको छ भने अमेरिकी बजारमा कारोबार हुने डब्लुटिआई कच्चा तेलको मूल्य ४.७ प्रतिशतले घटेर प्रतिबारेल ८०.८९ डलर पुगेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका–इरान सम्झौतामा सहमति जुटिसकेको जानकारी दिँदै यसको औपचारिक हस्ताक्षर आगामी जुन १९ मा स्विट्जरल्यान्डमा हुने बताएका छन् । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले पनि राज्य टेलिभिजनमार्फत सम्झौता अन्तिम रूप दिइएको पुष्टि गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत “तेलको प्रवाह पुनः सुरु होस्” भन्दै प्रतिक्रिया दिएका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्दजस्तै बनेको थियो । त्यसपछि इरानले उक्त जलमार्ग प्रयोग गर्ने जहाजमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको थियो । विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको अवरोधले विश्व ऊर्जा बजारमा ठुलो असर परेको थियो ।
युद्धको अवधिभर तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको थियो । द्वन्द्व सुरु हुनुअघि प्रतिबारेल करिब ७० डलर रहेको ब्रेन्ट क्रुडको मूल्य युद्धकै क्रममा बढेर करिब १२० डलरसम्म पुगेको थियो ।
यद्यपि ऊर्जा क्षेत्रका विज्ञहरूले स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल ढुवानी तत्कालै पूर्ववत् अवस्थामा नफर्किने बताएका छन् । ऊर्जा परामर्शदाता संस्था लिपो आयल एसोसिएट्सका एन्ड्र्यु लिपोका अनुसार समुद्री मार्गमा राखिएका बारुदी सुरुङ हटाउन केही सातादेखि छ महिनासम्म लाग्न सक्छ । साथै, लामो समयदेखि प्रतीक्षारत तेलवाहक जहाजहरूको चाप र तेल उत्पादन तथा लोडिङ प्रक्रिया सामान्य अवस्थामा फर्काउन पनि थप समय लाग्ने उनको भनाइ छ ।
यसैबिच सम्झौतापछि एसियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ । जापानको निक्की सूचकाङ्क ४.३ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको केओएसपीआई ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
मध्य पूर्वी तेल तथा ग्यासमा अत्यधिक निर्भर रहेका एसियाली मुलुकहरू ऊर्जा मूल्यवृद्धिबाट सबैभन्दा बढी प्रभावित भएका थिए । अमेरिका–इरान सम्झौतासँगै ऊर्जा आपूर्ति सहज हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको विश्लेषकहरूको भनाइ छ ।