वीरगञ्ज । आर्थिक वर्षको रातो किताबमार्फत पर्सा निर्वाचन क्षेत्र नं. १ का विभिन्न पूर्वाधार, खेलकुद, सडक तथा शहरी विकास आयोजनाका लागि करोडौं रुपैयाँ बजेट विनियोजन गरिएको छ। बजेटमा खेल पूर्वाधारको स्तरोन्नति, सडक निर्माण तथा मर्मत, पुल निर्माण, शहरी सडक सुधार र सुरक्षित नागरिक आवास कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
विनियोजित बजेटअनुसार नारायणी बहुउद्देश्यीय कवर्ड हलको थप स्तरोन्नतिका लागि ५ करोड रुपैयाँ, नारायणी रंगशालाको क्रिकेट पूर्वाधार स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ तथा फुटबल मैदानमा फ्लडलाइट जडान र मैदान स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ।
त्यसैगरी, जनता सडक आवधिक मर्मत कार्यक्रमअन्तर्गत जितपुर–टेढा सडकका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ। हरपतगञ्जदेखि पूर्व ड्राइपोर्टलाई ६ लेन सडकसँग जोड्ने सडक निर्माण योजनाका लागि ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ। साथै ज्योति फर्मदेखि चोर्नीसम्मको सडक खण्डमा पर्ने सिर्सिया खोलामा पुल निर्माणको योजना पनि समावेश गरिएको छ।
कृषि क्षेत्रतर्फ कृषि ज्ञान केन्द्र पर्साका लागि ३९ लाख ७६ हजार रुपैयाँ तथा यान्त्रिक व्यवस्थापन डिभिजन पर्साका लागि १ करोड २१ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
वीरगञ्ज महानगरपालिकाभित्र शहरी सडक स्तरोन्नति, मर्मत–सुधार तथा सडक सुरक्षा कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, महानगरका विभिन्न १७ वटा सडक खण्डको निर्माण तथा स्तरोन्नतिका लागि २९ करोड ९९ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यस योजनाअन्तर्गत हरपतगञ्ज–हाइवे–कलौटी–खुहाडी–रामपुर नदी, अपौनी विद्यालय–सौराहा टोल–हाइवे, इनरवा–मनियारी, झाझी टोल–श्रीपुर, मनियारी–रामजानकी सडक, नेसनल इन्फोटेक–लक्ष्मणवा छठघाट, प्रसौनी स्कुल–मनियारी–इनरवा, परवानीपुर–ताजपुर, पटेलनगर–परवानीपुर तथा पुवारी टोल पोखरी–वडा कार्यालय–रामगढवा पुल–स्कुललगायत सडक खण्डहरू समेटिएका छन्।
त्यस्तै, सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत पर्सा क्षेत्र नं. १ का सबै वडामा १ हजार ४७ वटा आवासको भुक्तानी, संघीय कार्यालय भवनहरूको मर्मत–सुधार, सहरी तथा भवन निर्माण योजना, सडक मर्मत तथा सुरक्षा कार्यक्रमलगायतका योजनाहरू पनि बजेटमा समावेश गरिएका छन्।
स्थानीयवासीले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन, समयमै निर्माण सम्पन्न तथा गुणस्तरीय विकासमार्फत क्षेत्रको समग्र पूर्वाधार विकासमा उल्लेखनीय सुधार आउने अपेक्षा गरेका छन्।