रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाले आफ्नो १२औँ साधारण सभा पर्यटकीय नगरी सौराहा, चितवनमा भव्य रूपमा सम्पन्न गरेको छ। संगठनात्मक एकता, पत्रकारिता विकास तथा पत्रकारहरूको सम्मानलाई केन्द्रमा राखेर आयोजित साधारण सभाले सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
रौतहट शाखाको इतिहासमै पहिलो पटक जिल्लाबाहिर आयोजना गरिएको साधारण सभा चितवनको सौराहास्थित इडेन जंगल रिसोर्टमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। गत शुक्रबार आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रको विकास र पत्रकारहरूको योगदानको कदर गर्दै दुई जना पत्रकारलाई विशेष सम्मान प्रदान गरिएको छ।
नेपाल पत्रकार महासंघ रौतहट शाखालाई निरन्तर सहयोग गर्दै आएका नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी मोहन यादवको पहलमा स्थापना गरिएको ‘स्वर्गीय गौरीशंकर यादव पत्रकारिता पुरस्कार’ र ‘स्वर्गीय गौरीशंकर यादव फोटो पत्रकारिता पुरस्कार’ पहिलो पटक वितरण गरिएको हो।
पुरस्कारअन्तर्गत दुई दशकभन्दा बढी समयदेखि निरन्तर प्रकाशन हुँदै आएको तराई एक्सप्रेसका सञ्चालक तथा पत्रकार अशोक पहाडीलाई ‘स्वर्गीय गौरीशंकर यादव पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। त्यसैगरी फोटो पत्रकारितामार्फत सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका प्रभातकुमार झा ‘स्वर्गीय गौरीशंकर यादव फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन्।
गौरीशंकर यादव फाउन्डेशनका अध्यक्ष मोहन यादवले दुवै पत्रकारलाई जनही ११ हजार रुपैयाँ नगद, दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका थिए। पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको स्थापना गरिएको फाउन्डेशनले जनाएको छ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीको नेतृत्वमा पहिलो पटक सुरु गरिएको यस सम्मान कार्यक्रमले जिल्लाको पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार, सक्रिय र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
साधारण सभामा सहभागी पत्रकारहरूले महासंघका वार्षिक गतिविधि, पत्रकारिताका वर्तमान चुनौती, व्यावसायिक क्षमता अभिवृद्धि तथा संगठन सुदृढीकरणका विषयमा समेत विस्तृत छलफल गरेका थिए।
यसैबीच, सौराहामा सफलतापूर्वक सम्पन्न भएको साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रमप्रति खुसी व्यक्त गर्दै तराई टप अनलाइनले नेपाल पत्रकार महासंघ रौतहट शाखा तथा गौरीशंकर यादव फाउन्डेशनका अध्यक्ष मोहन यादवप्रति धन्यवाद ज्ञापन गरेको छ।
पत्रकारिताको मर्यादा, सम्मान र प्रोत्साहनलाई केन्द्रमा राखेर गरिएको यस पहलले रौतहटको सञ्चार क्षेत्रमा नयाँ ऊर्जा थप्नुका साथै पत्रकारहरूको मनोबल उच्च बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।