×

वीरगञ्ज । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएर कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लङ्घन गरेको आरोप लगाउँदै उक्त अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना गर्न माग गरेकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठाएको भन्दै त्यसको चौतर्फी विरोध भइरहेको बताइन्।

‘राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा दख्खल पुग्ने गरी दिएको अभिव्यक्तिको आज गम्भीर बहस र विरोध भइरहेको छ,’ अर्यालले भनिन्, ‘हामीले पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आफ्नो गल्ती सच्याउनुभएको छैन। उहाँले उक्त अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना गर्नुपर्छ।’

अर्यालले नेपालका अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्दा त्यसलाई सत्ता र प्रतिपक्षको विषय नबनाई राष्ट्रिय सहमतिका आधारमा अघि बढाइएको स्मरण गराउँदै राष्ट्रियताजस्तो संवेदनशील विषयमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताइन्।

उनले राष्ट्रिय हित र सार्वभौमिकताका विषयमा संसद्बाट सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्चाएसम्म सदन स्थगित गर्न समेत माग गरिन्।

अर्यालले राष्ट्रियताका सवालमा सरकार गम्भीर हुनुपर्ने र प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले मुलुकको कूटनीतिक सम्बन्धमा समेत असर पार्न सक्ने भन्दै समयमै त्यसको सच्याउन आवश्यक रहेको धारणा व्यक्त गरिन्।

Back to top