×

वीरगञ्ज । नेपाल पत्रकार महासंघ बारा शाखाले विभेदकारी तथा स्वेच्छाचारी सरकारी निर्णयविरुद्ध संकलित हस्ताक्षरसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत बारा शाखाले सरकारी विज्ञापन तथा सार्वजनिक सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने परिपत्र खारेज गर्न माग गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो। उक्त अभियानमार्फत संकलित हस्ताक्षर ज्ञापनपत्रसहित सरकारसमक्ष पेश गरिएको महासंघले जनाएको छ।

महासंघले प्रेस स्वतन्त्रताको संरक्षण, संविधान संशोधनका लागि सर्वपक्षीय कार्यदल गठन तथा नागरिकको निर्वाध सूचना उपभोगको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

ज्ञापनपत्र बुझाउने क्रममा महासंघका पदाधिकारीहरूले सञ्चारमाध्यममाथि लागू गरिएका विभेदकारी नीतिहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि नकारात्मक असर पार्ने भन्दै सरकारले उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने बताएका छन्।

महासंघले आफ्ना मागहरू सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएको छ। साथै आन्दोलनलाई प्रभावकारी बनाउन सञ्चारमाध्यम, पत्रकार तथा सरोकारवाला निकायहरूलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरेको छ।

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनामा पहुँचको अधिकारको रक्षा आफ्नो प्रमुख दायित्व रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सबै लोकतान्त्रिक पहल र संघर्षलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Back to top