वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय सदस्यमा निर्वाचित विश्वनाथ खनाललाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बधाई तथा सम्मान व्यक्त गरेका छन्।
महानगरपालिकाको कार्यकक्षमा आयोजित एक कार्यक्रममा प्रमुख सिंहले खनाललाई खादा ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा उनले खनालको निर्वाचनले निजी क्षेत्र, विशेषगरी ढुवानी तथा यातायात व्यवसायको आवाज राष्ट्रिय स्तरमा अझ प्रभावकारी रूपमा उठ्ने विश्वास व्यक्त गरे।
हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत भएको निर्वाचनबाट खनाल केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनको विजयसँगै ढुवानी व्यवसायीहरूको इतिहासमा पहिलो पटक उक्त क्षेत्रबाट महासंघको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व सुनिश्चित भएको बताइएको छ।
ढुवानी तथा यातायात क्षेत्रमा लामो समयदेखि सक्रिय खनाल ढुवानी व्यवसायी महासंघ–नेपालका निवर्तमान अध्यक्ष समेत हुन्। उनले व्यवसायीहरूको हकहित संरक्षण, नीतिगत सुधार तथा यातायात क्षेत्रका विविध समस्याको समाधानका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
खनालको अनुभव, नेतृत्व क्षमता तथा व्यवसायिक दक्षताले ढुवानी तथा यातायात क्षेत्रसँग सम्बन्धित मुद्दाहरूको प्रभावकारी सम्बोधन, निजी क्षेत्रको सशक्तीकरण तथा उद्योग–व्यापारमैत्री नीतिगत सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।