×

नेपालको तराई क्षेत्रमा अहिले चर्को गर्मी, तीव्र घाम, धुलो, पसिना तथा बढ्दो प्रदूषणका कारण छालासम्बन्धी समस्या तीव्र रूपमा बढिरहेका छन् । यस्तै अवस्थाबिच “छिट्टै गोरो बनाउने” दाबी गर्ने Fairness Cream को प्रयोग पनि डरलाग्दो रूपमा बढ्दै गएको छ ।

सामाजिक सञ्जाल, विज्ञापन, फिल्म तथा समाजमा गहिरोसँग बसेको “गोरो छाला नै सुन्दरता” भन्ने गलत मानसिकताका कारण धेरै युवायुवती, महिला तथा केही पुरुषहरू समेत चिकित्सकको सल्लाहबिना यस्ता क्रिम प्रयोग गरिरहेका छन् ।

तर वास्तविकता भने फरक छ । धेरै Fairness Creams ले छालालाई सुन्दर बनाउनुको सट्टा बिस्तारै कमजोर, संवेदनशील र बिरामी बनाइरहेका हुन्छन् । छाला रोग विशेषज्ञहरूका अनुसार केही समय “गोरो” देखिने आशामा आफ्नो छालाको प्राकृतिक स्वास्थ्य नै गुमाएको अवस्थामा अहिले दैनिक रूपमा यस्ता बिरामीहरू अस्पताल पुगिरहेका छन् ।

Fairness Cream भित्र लुकेका खतरनाक रसायन

बजारमा पाइने धेरै Fairness Cream मा शक्तिशाली Steroid, Hydroquinone तथा अन्य रासायनिक पदार्थ मिसाइएको हुन्छ । सुरुमा यी क्रिम प्रयोग गर्दा छाला केही दिन चम्किलो, चिल्लो तथा गोरो देखिन सक्छ । तर त्यो वास्तविक सुधार नभई केवल अस्थायी प्रभाव मात्र हो ।

लगातार प्रयोगपछि यस्ता समस्या देखिन थाल्छन्:

  • छाला पातलो हुनु
  • अनुहार रातो भइरहनु
  • स-साना रक्तनली स्पष्ट देखिनु
  • अनुहार पोल्ने तथा चिलाउने समस्या
  • घाम लाग्ने बित्तिकै जलन हुनु
  • अत्यधिक Acne आउनु

विशेषगरी तराईको चर्को घाममा Steroid प्रयोग गरिएको छाला अझ छिटो बिग्रिने जोखिम रहन्छ।

गोरो बन्ने प्रयासले Pigmentation झन् बढाउँदै

धेरै मानिसहरू घामले कालोपन आएको भन्दै Fairness Cream प्रयोग गर्छन् । तर Steroid तथा Hydroquinone जस्ता रसायनले केही समयपछि अनुहारमा कालो धब्बा, Uneven Skin Tone तथा स्थायी Pigmentation निम्त्याउन सक्छ ।

तराई क्षेत्रमा अत्यधिक UV Radiation हुने भएकाले यस्ता समस्या झन् गम्भीर बन्ने चिकित्सकहरूको भनाइ छ । सुरुमा गोरो देखिएको छाला पछि अस्वाभाविक रूपमा कालो, संवेदनशील तथा कमजोर बन्न सक्छ ।

सस्तो Cosmetic Cream को लुकेको खतरा

बजारमा पाइने कतिपय सस्ता Cosmetic Creams मा Mercury जस्ता विषाक्त पदार्थ भेटिएको घटनाहरू विश्वभर सार्वजनिक भइसकेका छन् । यस्ता पदार्थले केवल छाला मात्र होइन, शरीरको समग्र स्वास्थ्यमा समेत असर पुर्‍याउन सक्छ ।

यसका कारण:

  • छाला स्थायी रूपमा बिग्रिनु
  • मिर्गौलामा असर पर्नु
  • Hormonal समस्या आउनु
  • दीर्घकालीन स्वास्थ्य जोखिम बढ्नु

जस्ता गम्भीर समस्या देखिन सक्छन्।

Social Media ले बढाएको “गोरोपनको दबाब”

आजकाल Instagram, TikTok तथा विभिन्न विज्ञापनहरूले “गोरो हुनु नै आत्मविश्वास र सुन्दरता हो” भन्ने गलत सन्देश फैलाइरहेका छन् । यसले विशेषगरी युवापुस्तामा मानसिक दबाब सिर्जना गरिरहेको छ ।

तर चिकित्सकीय रूपमा हेर्दा:

  • स्वस्थ छाला महत्त्वपूर्ण हो,
  • प्राकृतिक छालाको रङ्ग सामान्य कुरा हो,
  • र प्रत्येक व्यक्तिको Skin Tone वैज्ञानिक रूपमा फरक हुन्छ।

छालाको प्राकृतिक रङ्ग बदल्ने प्रयासभन्दा छालालाई स्वस्थ राख्नु धेरै महत्त्वपूर्ण कुरा हो।

घामबाट बच्ने सही उपाय Fairness Cream होइन

तराई क्षेत्रमा धेरै मानिसहरूले Fairness Cream लाई Sun Protection जस्तै प्रयोग गर्ने गरेको पाइन्छ । यो अत्यन्त गलत अभ्यास हो ।

घामबाट बच्न आवश्यक कुरा भनेका:

  • राम्रो Sunscreen प्रयोग,
  • छाता वा टोपीको प्रयोग,
  • पर्याप्त पानी पिउने,
  • हल्का तथा सफा Skincare अपनाउने,
  • र चिकित्सकको सल्लाह लिने

हो, Fairness Cream होइन ।

Self-Medication : बढ्दो खतरनाक प्रवृत्ति

आजकल साथीभाइको सल्लाह, YouTube, TikTok वा Cosmetic पसलको सुझावमा औषधीय क्रिम प्रयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ । तर एउटा व्यक्तिलाई सुहाएको औषधि अर्को व्यक्तिका लागि खतरनाक हुन सक्छ ।

Dermatology मा “Copy-Paste Treatment” हुँदैन । प्रत्येक व्यक्तिको छाला फरक हुन्छ र उपचार पनि फरक हुनुपर्छ ।

किशोर किशोरीमा बढ्दो प्रयोग झन् चिन्ताजनक

विद्यालय तथा कलेज उमेरका किशोर किशोरीहरूमा Fairness Cream प्रयोगको लहर तीव्र रूपमा बढेको देखिन्छ । कम उमेरमै Steroid युक्त क्रिम प्रयोग गर्दा:

  • छाला कमजोर बन्ने,
  • Allergy बढ्ने,
  • Hormonal असर पर्ने,
  • तथा आत्मविश्वासमा नकारात्मक असर पर्ने

समस्या देखिन सक्छ ।

अभिभावकहरूले यस विषयमा विशेष ध्यान दिन आवश्यक छ।

वास्तविक सुन्दरता स्वस्थ छालामा हुन्छ

छाला रोग विशेषज्ञहरूका अनुसार वास्तविक सुन्दरता गोरोपनमा होइन, स्वस्थ छालामा हुन्छ। सफा छाला, राम्रो जीवनशैली, पर्याप्त निद्रा, सन्तुलित आहार, पर्याप्त पानी तथा उचित Skincare ले छालालाई प्राकृतिक रूपमा राम्रो बनाउँछ ।

केही दिनको कृत्रिम गोरोपनका लागि आफ्नो छालाको दीर्घकालीन स्वास्थ्य गुमाउनु बुद्धिमानी होइन।

अन्तिम सन्देश : आफ्नो छालालाई प्रयोगशाला नबनाऔँ

हाम्रो समाजले वर्षौँदेखि गोरोपनलाई सुन्दरतासँग जोडेर हेर्दै आएको छ । तर अब सोच परिवर्तन आवश्यक छ। विशेषगरी तराई क्षेत्रजस्तो अत्यधिक गर्मी र घाम भएको ठाउँमा जथाभाबी Fairness Creams प्रयोग गर्नु अत्यन्त जोखिमपूर्ण हुन सक्छ।

त्यसैले:

  • चिकित्सकको सल्लाहबिना Fairness Cream प्रयोग नगरौँ,
  • Social Media को भ्रममा नपरौँ,
  • आफ्नो प्राकृतिक छालालाई सम्मान गरौँ ।

किनकि स्वस्थ छाला नै वास्तविक सुन्दरता हो । आज आवश्यकता गोरो बन्ने होइन, सचेत बन्ने हो ।

(लेखक एक वरिष्ठ परामर्शदाता छाला तथा योनरोग विशेषज्ञ र वीरगञ्जको नारायणी अस्पतालमा छाला रोग विभागका प्रमुख पनि हुन् । त्यस्तै उनिसँग वीरगञ्जको सिगरेट फ्याक्ट्री रोडस्थित क्योर अल फार्मेसीमा पनि भेटघाट गर्न सकिन्छ ।)

Back to top