नेपाल बहुसांस्कृतिक तथा बहुपरम्परागत देश हो, जहाँ विभिन्न चाडपर्वहरू हर्षोल्लासका साथ मनाइन्छन्। होली पर्व पनि त्यस्तै रङ्गीन, उत्साहपूर्ण तथा सामाजिक सद्भाव बढाउने पर्व हो। परिवार, साथीभाइ तथा समुदायसँग रङ खेल्दै खुशी साटासाट गर्नु हाम्रो सांस्कृतिक पहिचानको सुन्दर पक्ष हो।
तर एक छाला रोग विशेषज्ञका रूपमा मैले हरेक वर्ष होलीको समयमा तथा त्यसपछिका दिनहरूमा छाला सम्बन्धी समस्या लिएर आउने बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढेको देखेको छु। त्यसैले होली मनाउँदा केही सावधानी अपनाएर छाला स्वास्थ्य जोगाउनु अत्यन्त आवश्यक छ।
१. हानिकारक रङबाट जोगिनुहोस्
बजारमा पाइने धेरै रङमा सिसा (Lead), पारा (Mercury), क्रोमियमजस्ता हानिकारक रसायन मिसिएको हुन सक्छ। यसले एलर्जी, जलन, र्यास, सुन्निने समस्या तथा दीर्घकालीन क्षति पुर्याउन सक्छ।
सम्भव भएसम्म प्राकृतिक तथा वनस्पतिजन्य रङ (फूल, हल्दी, चन्दन आदि) प्रयोग गर्नु सुरक्षित हुन्छ।
२. धुलो रङ तथा गाढा रङमा सावधानी
धुलो रङले छाला सुक्खा बनाउँछ र माथिल्लो तहमा चोट पुर्याउन सक्छ। गाढा वा कालो/तेज रङ हटाउन गाह्रो हुने भएकाले घोट्दा समस्या बढ्न सक्छ।
३. रङ खेल्नु अघि छालाको तयारी
होली खेल्नु अघि अनुहार र शरीरमा मोइस्चराइजर वा नरिवल तेल लगाउँदा छालामा सुरक्षात्मक तह बन्छ। यसले रङ छालाभित्र गहिरोसम्म पस्न दिँदैन।
नङमा नेलपलिस र कपालमा तेल लगाउनु पनि उपयोगी हुन्छ।
४. संवेदनशील भाग जोगाउनुहोस्
आँखा वरिपरि, ओठ, नाकको भित्री भाग, कान, घाँटी तथा जननाङ्ग जस्ता भागमा रङ नलगाउनु राम्रो हुन्छ। यी भागमा संक्रमण र एलर्जीको जोखिम बढी हुन्छ।
५. आँखा तथा घाउ भएको छालामा विशेष ध्यान
यदि छालामा पहिल्यै घाउ, एक्जिमा, सोरायसिस वा अन्य समस्या छ भने होली खेल्दा सावधानी आवश्यक हुन्छ। आँखा भित्र रङ पस्यो भने तुरुन्त सफा पानीले पखालेर स्वास्थ्य संस्थामा जानुहोस्।
६. बालबालिका र संवेदनशील छाला भएका व्यक्तिमा सावधानी
बालबालिकाको छाला नरम हुन्छ। एलर्जी छिटो हुन सक्छ। एक्जिमा, एलर्जी वा सुक्खा छाला भएका व्यक्तिले सुरक्षित र कम रङ प्रयोग गर्नुपर्छ।
७. घाउ वा हालै गरिएको उपचार भएको छालामा रङ नलगाउनुहोस्
फेसियल, पिलिङ, लेजर उपचार वा पोलिएको/काटिएको छालामा रङ लगाउँदा झन् जलन र समस्या बढ्न सक्छ।
८. पहिलेदेखि एलर्जी वा दाद भएमा
संवेदनशील छालामा रङ धेरै समय राख्दा रातोपन, सुन्निने, पानी आउने वा फोका आउने समस्या हुन सक्छ। कम र सुरक्षित रङ प्रयोग गर्नुहोस्, धेरै समय रङ नराख्नुहोस्, समस्या देखिए विशेषज्ञसँग परामर्श लिनुहोस्
९. तातो पानी धेरै प्रयोग नगर्नुहोस्
धेरै तातो पानीले छालाको प्राकृतिक तेल हटाउँछ। न्यानो पानी प्रयोग गर्नु राम्रो हुन्छ।
१०. रङ हटाउँदा छाला नघोट्नुहोस्
पहिले न्यानो पानीले हल्का पखाल्नुहोस्, त्यसपछि माइल्ड साबुन/फेसवाश प्रयोग गर्नुहोस्। स्क्रब नगर्नुहोस्।
११. नुहाएपछि मोइस्चराइजर लगाउनुहोस्
रङ हटाएपछि छाला सुक्खा हुन्छ। त्यसैले मोइस्चराइजर लगाउनु आवश्यक हुन्छ। ओठका लागि लिप बाम प्रयोग गर्न सकिन्छ।
१२. समस्या देखिए तुरुन्त विशेषज्ञको सल्लाह लिनुहोस्
यदि होली खेल्दा वा पछि— अत्यधिक जलन भयो, लगातार चिलायो, र्यास/फोका आयो, अनुहार सुन्नियो, आँखामा दुखाइ वा रातोपन बढ्यो, सास फेर्न गाह्रो भयो भने आफैँ उपचार नगर्नुहोस्। तुरुन्त नजिकको स्वास्थ्य संस्था वा छाला रोग विशेषज्ञसँग सम्पर्क गर्नुहोस्।
छाला केवल बाहिरी सौन्दर्यका लागि मात्र होइन, शरीरलाई बाह्य संक्रमण र हानिकारक तत्वबाट जोगाउने पहिलो सुरक्षा तह हो। त्यसैले छालामा समस्या देखिँदा बेवास्ता नगरी समयमै सही उपचार गर्नु आवश्यक छ।
सुरक्षित रङको प्रयोग, संवेदनशील भागको संरक्षण र समस्या देखिएमा चिकित्सकीय सल्लाह—यी साना सावधानीहरूले होलीलाई रमाइलो मात्र होइन, स्वास्थ्यकर पनि बनाउँछन्।
होलीको हार्दिक शुभकामना। रंग, हाँसो र सद्भावले भरिएको यो पावन अवसरले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, स्वास्थ्य र खुसी ल्याओस्।
डा. अतुलेश कुमार चौरसिया वरिष्ठ परामर्शदाता छाला तथा योनरोग विशेषज्ञ प्रमुख, छाला रोग विभाग Narayani Hospital क्लिनिक: क्योर अल फार्मेसी, सिगरेट फ्याक्ट्री रोड, बिर्ता–४, वीरगञ्ज सम्पर्क: +977–9803427656 (Ncell / WhatsApp) +977–9765026627 (NTC) 051–592299 (Telephone) इमेल: [email protected] वेबसाइट: www.dratulesh.com