वीरगञ्ज । मधेस प्रदेश सरकार “असफलताको प्रतीक” को प्रतीक बन्दै गएको छ ।
पाँच महिनाभन्दा बढी समयदेखि मधेस प्रदेशको नेतृत्व गरिरहेका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो प्राथमिकतामा विकास निर्माण, जनताको समस्या समाधान र प्रभावकारी नीति निर्माणलाई नराखेर भ्रमण, निरीक्षण र व्यक्तिगत प्रचारबाजीमा ध्यान केन्द्रित गरेका छन् । यसले मधेस प्रदेशको समग्र विकासमा गम्भीर अवरोध सिर्जना गरेको छ ।
मुख्यमन्त्री सिंहको नेतृत्वलाई स्थानीयवासीले “प्रचारमुखी तर कामविहीन” भनी आलोचना गरेका छन् । “मुख्यमन्त्री सिंह कुनै समस्याको समाधान गर्न गएका छैनन् । उनी फोटो खिच्न र भाषण दिन मात्रै घुम्छन्,” वीरगञ्ज – ९ का स्थानीय व्यापारी अनिल गुप्ताले भने । उनले सिंहलाई “कर्महीन नेता” को संज्ञा दिए ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा मधेस प्रदेश सरकारले कुल बजेटको ७.३७ प्रतिशत मात्र खर्च गर्न सकेको छ । पुँजीगत बजेट खर्च झन् दयनीय अवस्थामा छ, जसमा कुल बजेटको केवल ०.१७ प्रतिशत मात्र खर्च भएको छ । यसले मुख्यमन्त्रीको योजना विहीनता र कमजोर नेतृत्वलाई प्रस्ट्याउँछ ।
“जब सरकारसँग विकासका लागि ठोस योजना नै हुँदैन, बजेट केवल कागजमा खर्च हुन्छ,” वीरगञ्ज – ११ का रामेश्वर यादवले भने ।
स्वास्थ्य र शिक्षाजस्तो संवेदनशील क्षेत्रमा समेत सरकारको उदासीनता देखिएको छ । महोत्तरीको प्रादेशिक अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएर सेवा ठप्प भए पनि मुख्यमन्त्री सिंहले कुनै समाधान खोज्ने चेष्टा नगरेको गुनासो स्थानीयहरूले गरेका छन् ।
“अस्पतालमा न डाक्टर छन्, न औषधि । यस्तो अवस्थामा हामी कसकोमा गुनासो गर्न जाने?” महोत्तरीकी गीता देवीको गुनासो छ ।
पर्साको पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिए पनि यसको व्यवस्थापन र विकासका लागि सरकारको कुनै योजना छैन । “मुख्यमन्त्रीलाई अस्पतालको विकास होइन, क्यामेराको अगाडि देखिनु महत्त्वपूर्ण छ,” स्थानीय शिक्षक रमेश चौधरीले कटाक्ष गरे ।
प्रदेशका विभिन्न कार्यालयहरूमा अनियमितता व्यापक रूपमा फैलिएको छ । यातायात व्यवस्था कार्यालयमा चालक अनुमति पत्र वितरणमा व्यापक लुटतन्त्र चलिरहेको र यसबाट मुख्यमन्त्री सिंह आफैँलाई फाइदा पुगेको आरोप स्थानीयहरूबाट उठाइएको छ ।
“ड्राइभिङ लाइसेन्स लिन घुस दिनुपर्छ । त्यहाँ हुने अनियमितताबाट मुख्यमन्त्रीलाई पनि फाइदा पुग्छ भन्ने हल्ला छ,” वीरगन्जका स्थानीयले भने। यद्यपि, यो आरोप स्वतन्त्र रूपमा पुष्टि भएको छैन, तर मुख्यमन्त्रीको निष्क्रियता यस्ता हल्लालाई बल दिइरहेको छ ।
मुख्यमन्त्री सिंहको नेतृत्वले मधेस प्रदेशमा भ्रमण र निरीक्षणलाई मुख्य प्राथमिकतामा राखेको देखिन्छ । “मुख्यमन्त्री सिंह कहिले यता, कहिले उता। तर, उनी केही ठोस कामको योजनाबिना घुम्छन्,” सर्लाहीका एक स्थानीयले आक्रोश पोखेका छन् ।
सिंहको काम गर्ने शैलीलाई स्थानीयहरूले “झुटो आश्वासनको राजनीति” भनी व्याख्या गरेका छन् । “आश्वासन दिएर जनतालाई ढाँट्ने नेताको पालामा हामी बाँच्न बाध्य छौँ,” सर्लाहीका युवा अभियन्ता अमृत सिंहले भने ।
राजनीतिक विश्लेषकहरूका अनुसार, मुख्यमन्त्री सिंहको नेतृत्वले मधेस प्रदेशलाई विकासको बाटोमा होइन, असफलताको खाडलतिर धकेलिरहेको छ । “यस्तो गैर जिम्मेवार नेतृत्वले प्रदेशको समृद्धि सम्भव छैन । सिंहको प्राथमिकता र दृष्टिकोण सुधारिएन भने मधेस प्रदेश अझ ठूलो सङ्कटमा फस्नेछ,” सिराहा स्थानीय व्यवसायी अनुज कर्णले भने ।
प्रचारबाजीका भोका मुख्यमन्त्री सिंहले आफ्नो राजनीतिक मर्यादा र कूटनीतिक नियमहरूको समेत पालना नगरेको पाइएको छ । मुख्यमन्त्री सिंहको हालैको अयोध्या भ्रमणले थप विवाद सिर्जना गरेको छ । रामजानकी विवाहोत्सव अन्तर्गत आयोजित कार्यक्रममा भाग लिन अयोध्या पुगेका मुख्यमन्त्री सिंहले परराष्ट्र मन्त्रालय र प्रदेश सरकारसँग कुनै समन्वय नगरी यात्रा गरेको आरोप लागेको छ । त्यहाँ पुगेका मुख्यमन्त्री सिंहलाई साधारण व्यक्ति भन्दा पनि कम इज्जत दिइएको थियो । एउटा प्रदेशका मुख्यमन्त्री हुँदाहुँदै पनि उनलाई भारतमा कुनै सम्मान र सत्कार गरिएको थिएन । यद्यपि त्यसले पनि उनलाई केही फरक परेन ।
मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमाथि जनताको विश्वास ह्रास भइरहेको छ । मधेस प्रदेशको स्वास्थ्य, शिक्षा, विकास निर्माण र भ्रष्टाचार नियन्त्रणजस्ता प्राथमिकताका क्षेत्रमा सिंह असफल ठहरिएका छन् । यदि उनले तत्काल जनताको समस्याको समाधानका लागि ठोस कदम चालेनन् भने उनको नेतृत्व मधेसको राजनीतिक इतिहासमा “असफलताको प्रतीक”का रूपमा चिनिने निश्चित छ ।