×

वीरगञ्ज । पर्सा जिल्लामा सामाजिक उत्थान तथा जनचेतनामूलक कार्यक्रमको नाममा गैरसरकारी संस्था (एनजिओ) मार्फत व्यापक भ्रष्टाचार भएको खुलासा भएको छ । स्थानीयले गैरसरकारी संस्थाहरूले कागजी प्रक्रिया मात्रै पुर्‍याएर तालिम तथा विकास कार्यको ढोँग गर्दै करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् ।

स्रोतका अनुसार, पर्साका अमोद केवटले सञ्चालन गर्दै आएको एक सामाजिक संस्थाको नाममा पोखरिया र बहुदरमाई नगरपालिकाबाट तालिम कार्यक्रमका लागि ठूलो मात्रामा रकम निकासा गरिएको थियो ।

पोखरिया नगरपालिकाबाट झन्डै २ करोड रुपैयाँ र बहुदरमाई नगरपालिकाबाट १ करोड ६० लाख रुपैयाँ जनचेतना र सीपमूलक तालिमका नाममा निकालिएको भए पनि अधिकांश कार्यक्रमहरू सञ्चालन नै नगरी कागजी प्रमाण तयार गरी रकम हिनामिना गरिएको बताइएको छ ।

एक कर्मचारीका अनुसार, तालिम नचलाई बनावटको फोटो, उपस्थितिको फर्जी नामावली, खर्च बिल लगायतका कागजात पेस गरी रकम झिकिएको छ । बहुदरमाई नगरपालिकामा मात्रै १ करोड ६० लाखको बजेट विनियोजन गरिएकोमा ३५ लाख ८८ हजार रुपैयाँ पहिले नै भुक्तानी भइसकेको जनाइएको छ । बाँकी रकमसमेत निकाल्न फर्जी प्रक्रिया अगाडि बढाइएको आरोप छ ।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक अनुसन्धान थालेको छ । उजुरीकर्ताहरूका बयान, कागजात सङ्कलन र आर्थिक कारोबार विवरणको अध्ययन भइरहेको जनाइएको छ । अनुसन्धानको दायरामा सम्बन्धित स्थानीय निकायका कर्मचारीहरू पनि परेका छन् ।

स्थानीय स्रोतहरूका अनुसार, अमोद केवटले कर्मचारीहरूसँग मिलेमतो गरेर भ्रष्टाचारको सिन्डिकेट बनाएका छन् र सोमार्फत अकुत सम्पत्ति आर्जन गरेका छन् ।

घटनाले स्थानीय तहमा सामाजिक विकासका नाममा चलाइने एनजिओ कार्यक्रमहरूमा देखिएको भ्रष्टाचार, संस्थागत अनियमितता र सरकारी स्रोतको दुरुपयोगबारे गम्भीर प्रश्न उठाएको छ ।

Back to top