वीरगञ्ज । झोले संस्थामार्फत करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पर्सा जिल्लाका अमोद केवट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् ।
विभिन्न नाममा आधा दर्जनभन्दा बढी गैरसरकारी संस्था (एनजीओ) सञ्चालन गर्दै आएका केवटले चालु आर्थिक वर्ष २०८१/८२ मा पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकासँग मिलेमतो गरी ठूला रकमको अनियमितता गरेको खुलेको हो ।
विशेष स्रोतले उपलब्ध गराएको सूचना अनुसार, पोखरिया नगरपालिकाबाट करिब २ करोड रुपैयाँ र बहुदरमाई नगरपालिकाबाट १ करोड ६० लाख रुपैयाँ बराबरका जनचेतना तथा सीपमूलक तालिम कार्यक्रमको नाममा रकम निकासा गरिएको थियो । यद्यपि, कार्यक्रम वास्तवमा नगरी, कागजी प्रमाणहरू तयार पारेर रकम हिनामिना गरिएको आरोप लागेको छ ।
अख्तियारका स्रोतका अनुसार पोखरिया नगरपालिकामा विगतमा सम्पन्न कार्यक्रमका सहभागीहरूको नाम दोहोर्याएर पेस गरिएको र कागज मिलाएर फर्जी बिलमार्फत रकम झिकिएको प्रमाण फेला परेको छ । यस्तै, निलम्बित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवलाई लाखौँ रुपैयाँ ‘कमिसन’ स्वरूप दिइएको विवरण समेत खुलेको छ ।
बहुदरमाई नगरपालिकामा झन् वडा र नगर स्तरीय तालिमका नाममा १ करोड ६० लाख रुपैयाँ बजेट देखाइएको छ । बजेटमध्ये ३५ लाख रुपैयाँ पहिले नै भुक्तानी भइसकेको छ ।
केवटले पर्सा डेभलपमेन्ट प्रा.लि., विन्दवासिनी डेभलपमेन्ट एण्ड स्किल प्रा.लि., एग्रीकल्चर एण्ड स्किल डेभलपमेन्ट प्रा.लि., सामुदायिक सिकाई केन्द्र प्रा.लि., र सूर्योदय तालिम केन्द्र जस्ता संस्थाहरू मार्फत काम गर्ने गरेको बुझिएको छ । उनले सञ्चालन गर्ने संस्थाहरूको कार्यक्षेत्र अत्यन्तै सानो देखिए पनि कागजमा ठूलो बजेटको तालिम सञ्चालन गरिएको उल्लेख छ ।
स्थानीय स्रोतका अनुसार केवटले पालिकाबाट सङ्कलित अवैध रकममार्फत वीरगञ्जको रानीघाट क्षेत्रमा आलिसान घर निर्माण गरिसकेका छन् । हाल अख्तियारले प्रारम्भिक अनुसन्धान थालेको र सबै आर्थिक विवरण, संलग्न व्यक्तिको बयान र संस्थाको बैंक कारोबारबारे तथ्य सङ्कलन भइरहेको बताइएको छ ।
सम्बन्धित कानुन अनुसार यस्ता तालिम कार्यक्रम स्थानीय आवश्यकताको पहिचान, सार्वजनिक सूचना, प्रतिस्पर्धात्मक प्रस्ताव मूल्याङ्कन लगायतका प्रक्रिया पूरा गरेर मात्रै गर्नुपर्ने भए पनि प्रत्यक्ष सेटिङ र कमिसनको आधारमा अनियमितता गरिएको देखिन्छ ।