वीरगञ्ज । बाराको पचरौता नगरपालिका क्षेत्रबाट प्रहरीले १० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मङ्गलवार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगञ्ज खजानीबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले पचरौता नगरपालिका–३ ब्रह्मस्थानस्थित गंगानगरबाट डाटगाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलमा सवार दुई जनाबाट दुई पोका (१० किलो) गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगर बस्ने ३३ वर्षीय राजकुमार कुशवाहा र सोही ठाउँका २८ वर्षीय पुनदेव पटेल रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई लागूऔषध गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिए ।
बारा प्रहरीले लागूऔषध ओसारपसार तथा तस्करीमा संलग्नहरूमाथि कडाइ गरिएको दाबी गरेपनि जिल्लामा हुने अवैध कारोबारमाथि प्रहरीले कुनै रोक लगाउन सकेको छैन । भारतसँग सीमा जोडिएका बाराका विभिन्न नाकाहरूबाट अवैध सामग्रीको तस्करीदेखि लागूऔषध व्यवसायसमेत फस्टाएको छ ।