वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल परिसरभित्र सञ्चालित साझा औषधी पसलले गुणस्तरहिन औषधी बिक्रि गरेको पाइएको छ। नारायणी अस्पतालको आईसीयू वार्डको दुई नम्बर बेडमा उपचार गराइरहेका बिरामी रमेश साह तुराहाले उक्त औषधी पसलबाट खरिद गरेको स्लाईन पानीभित्र फोहोरसहितको लेदो भेटिएको तथ्य बाहिरिएको हो।
बिरामीको स्वास्थ्यमा गम्भीर खेलवाड गर्दै अवैधानिक रुपमा सञ्चालित यो औषधी पसल पटकपटक विवादको विषय बनिरहेको छ। अस्पतालको हाताभित्र यस प्रकारका गुणस्तरहिन औषधीजन्य सामग्रीको बिक्रि वितरण गर्नु स्वास्थ्य सुरक्षा र बिरामीको जीवनप्रति गम्भीर खतराको संकेत हो।
स्वास्थ्य नियमावली अनुसार सरकारी अस्पतालको हाताभित्र कुनै पनि निजी वा साझेदारीमा औषधी पसल खोल्न नपाउने स्पष्ट प्रावधान हुँदाहुँदै पनि, यो पसलले नियमको उलंघन गर्दै गुणस्तरहिन औषधीजन्य सामग्रीको बिक्रि जारी राखेको पाइएको छ।
साझा औषधी पसलले यसअघि पनि पटकपटक विवादमा आइरहेको इतिहास रहेको छ। यस घटनाले अस्पताल प्रशासन र सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्ने आवश्यकता औँल्याएको छ।