×

सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री डा. नवलकिशोर साहले आईतवार सर्लाही सदरमुकाम मलंगवामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै वर्तमान दुई दलीय गठबन्धन सरकारको आलोचना गरेका छन्।

अध्यक्ष साहले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकारलाई "जनादेश विपरित, सिमित नेताको स्वार्थका लागि बनेको ठगबन्धन" को संज्ञा दिए। उनले उक्त गठबन्धन सरकार धेरै दिन टिक्न नसक्ने ठोकुवा गर्दै, यस्तो स्वार्थपूर्ण गठबन्धनले मुलुकलाई दुरगति तर्फ धकेलिरहेको आरोप लगाए।

सम्बोधनका क्रममा उनले भ्रष्ट नेताहरुको शासन र वर्चस्वले देशलाई दिन प्रतिदिन कमजोर बनाउँदै लगेको भन्दै, युवाहरुलाई भ्रष्ट नेताहरुलाई मुलुकबाट लखेट्न र विकास, सुशासनको प्रत्याभूति गराउने कार्यमा अग्रसर बन्न आह्वान गरे।

अध्यक्ष साहले तेस्रो जनआन्दोलनको आवश्यकता औँल्याउँदै, "दलाल दलतन्त्र" विरुद्ध जनआन्दोलनको तयारीमा जुट्न पनि आह्वान गरे। साथै, उनले भ्रष्ट नेताहरुलाई राज्यले कारवाही गर्न नसकेको आरोप लगाउँदै, अब जनताले नै जनकारवाही गर्नुपर्ने चेतावनी दिए।

उनले देशमा भ्रष्टाचारीहरु सम्मानित भईरहेको तर स्वाभिमानी युवाहरु अपमानित र विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्ने उल्लेख गरे। राज्यले भ्रष्टाचारीलाई जोगाउने र सम्मान गर्ने कार्यले देशलाई कंगाल बनाउँदै लगेको गम्भीर कुरा उठाउँदै, आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरुको अगुवाई आवश्यक रहेको बताए।

सो जिल्ला भेलामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह, सचिव उमेश कुशवाहा लगायतका नेताहरुको विशेष उपस्थिति रहेको स्थायी कमिटी सदस्य रविन्द्र सिंहले जानकारी दिए।

Back to top