×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको संविधानमा आवश्यक सुधार र संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै दुवै नेताले संविधानमा रहेका कमजोरी र विवादित पक्षहरूलाई समयानुकूल संशोधन गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन्। साथै उनीहरूले संविधान संशोधनको बहसलाई अगाडि बढाउन रास्वपालाई पनि अग्रसर हुन आग्रह गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा महत्वपूर्ण उपलब्धिहरू समेटिए पनि केही त्रुटि र विरोधाभासहरू रहेको उल्लेख गरे। उनले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई संविधानका सकारात्मक पक्षका रूपमा व्याख्या गर्दै त्यसमा रहेका विकृति र विसंगतिहरू हटाएर संशोधनको प्रक्रियामा जानुपर्ने बताए।

“संविधानमा महत्वपूर्ण उपलब्धिहरू छन्, तर केही त्रुटि र विरोधाभास पनि छन्,” यादवले भने, “संविधानमा रहेका कमजोरीहरू सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता हो। त्यसका लागि संविधान संशोधन अपरिहार्य छ।”

उनले २०७२ सालमा संविधान जारी हुँदा मधेश केन्द्रित दलहरूले आफूहरूका माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाएको स्मरण गर्दै अहिले पनि ती विषयहरू समाधान गर्न आवश्यक रहेको बताए।

त्यसैगरी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि संविधानमा सुधारको आवश्यकता रहेको धारणा राखे। उनले मुलुकका समस्या केवल पुराना राजनीतिक दल वा तिनका नेतामा मात्र सीमित नभई संविधानका केही व्यवस्थामा समेत रहेको दाबी गरे।

“समस्या केवल पुराना दल र तिनका नेतामा मात्र छैन, उनीहरूले निर्माण गरेको संविधानका केही व्यवस्थामा पनि छ,” लिङ्देनले भने, “त्यसैले संविधानलाई समयानुकूल सुधार गर्दै अगाडि बढ्नुपर्छ।”

रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ। महाधिवेशनमा उठेका धारणा र सुझावहरूलाई नेपाली राजनीतिको आगामी दिशा निर्धारणसँग जोडेर हेरिएको छ।

Back to top