वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा जारी रहेकाे क्रममा नेताहरूले सरकार सञ्चालन र कार्यशैलीमाथि उठिरहेका प्रश्नहरूको विषयमा धारणा राखेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै बलेन शाहले आफू नेतृत्वमा रहेको भनिएको राजनीतिक यात्राको उद्देश्य र गन्तव्य स्पष्ट रहेको बताउँदै आलोचना र सुझावलाई आफ्नै शैलीमा जवाफ दिएका छन्।
सम्बोधनको सुरुवात ‘नमस्ते’ गर्दै ठट्टाको शैलीमा “नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ” भन्दै उनले प्रतिनिधि तथा अतिथिहरूलाई अभिवादन गरेका थिए। उनले नयाँ राजनीतिक शक्तिहरूको उदय सानो महत्वाकांक्षा नभई देश परिवर्तन गर्ने तीव्र चाहनाबाट भएको बताए।
विभिन्न राजनीतिक दलका नेताहरूले रास्वपा तथा नयाँ शक्तिहरूको कार्यशैलीप्रति टिप्पणी गर्दै ‘गाडीमा एक्सेलेटरसँगै ब्रेक पनि आवश्यक हुन्छ’ भन्ने अभिव्यक्ति दिएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसप्रति कडा प्रतिक्रिया दिएका छन्।
“धेरैले चिन्ता व्यक्त गर्दै सरकार भनेको गाडी जस्तै हो, त्यसमा ब्रेक पनि चाहिन्छ भन्नुभएको छ,” शाहले भने, “तर त्यो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ। हाम्रो गाडी त एक्सप्रेस वेमा दौडिरहेको छ, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ।”
उनको भनाइअनुसार देश परिवर्तनको लक्ष्य लिएर अघि बढेको अभियानलाई रोक्ने कुनै सोच स्वीकार्य छैन। उनले नयाँ पुस्तामा देखिएको परिवर्तनप्रतिको उत्साहलाई संस्थागत गर्दै रास्वपालाई थप सुदृढ र संगठित बनाउनु अहिलेको आवश्यकता भएको बताए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरूको उपस्थितिमा महाधिवेशनका विभिन्न सत्रहरू जारी रहेका छन्।
बालेन शाहले महाधिवेशनले पार्टीलाई संस्थागत रूपमा अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै नयाँ राजनीतिक शक्तिहरूले देशको समृद्धि र सुशासनका लागि दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन्।