सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीले सञ्चालन गरेको सर्च अपरेशनका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय लालु यादव रहेका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार राति नेपाल–भारत सीमावर्ती क्षेत्रमा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले अपरेशन चलाएको थियो।
मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार सुराकीका आधारमा ठूलो परिमाणमा मदिरा भण्डारण तथा तस्करी भइरहेको स्थानमा सर्च अपरेशन गरिएको थियो।
सुरक्षाकर्मीले अपरेशन सञ्चालन गरिरहँदा तस्कर समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै घेरा हाल्न थालेपछि आत्मरक्षाका लागि प्रहरीले सात राउण्ड गोली चलाएको जानकारी दिइएको छ।
गोली लागेका लालु यादवलाई तत्कालै उपचारका लागि अस्पताल लैजाने प्रयास भए पनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट विभिन्न ब्राण्डका ८० कार्टुन मदिरा बरामद गरेको छ। साथै तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा अब अझ कडाइका साथ निगरानी गरिने प्रहरीको भनाइ छ।
घटनापछि स्थानीय क्षेत्रमा केही तनावको स्थिति देखिए पनि स्थिति सामान्य रहेको र अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा भइरहेको अवैध कारोवार तथा सुरक्षाको चुनौतीमाथि गम्भीर प्रश्न खडा गरेको छ।