चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालनबारे बलेन शाहसँग भएको सहमतिमा कुनै समस्या नआउने बताएका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार सञ्चालनको जिम्मा बालेन शाहकै रहेको संकेत गरेका हुन्।
उनले सहकार्यलाई खेलसँग तुलना गर्दै बालेन शाहलाई ‘गोल हान्ने जिम्मा’ दिइएको टिप्पणी गरे। “सरकार सञ्चालन गर्न चुनावअघि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,” लामिछानेले भने, “झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।”
सभापति लामिछानेको उक्त अभिव्यक्तिपछि कार्यक्रममा सहभागीहरूले ताली बजाएका थिए।
उनले आलोचना र अफवाहतर्फ संकेत गर्दै आफू कसैलाई जवाफ दिन नभई इतिहासलाई जवाफ दिन बोलिरहेको बताए। “यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्,” उनले भने, “म तिनीहरूलाई जवाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जवाफ दिन बोलिरहेको छु।”
रास्वपाको महाधिवेशनमा विभिन्न नेताहरूको सहभागिता रहेको छ भने पार्टीको भावी रणनीति, संगठन विस्तार र राजनीतिक दिशाबारे छलफल जारी रहेको छ।