सर्लाही । तराई–मधेसको प्रमुख पर्व छठ पूजाको अवसरमा नव जागरुक युवा क्लब, गोडैता–२, जयपुरले पहिलो चरणको छठ घाट तथा सार्वजनिक स्थान सरसफाइ कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बिओपी बहादुरपुरका इन्चार्ज सुरेश बुढाथोकी, मधुवन गोठ प्रहरी चौकीका इन्चार्ज दिपेन्द्र पाण्डे, पूर्व वडासदस्य सितल मुखिया, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू लगायत स्थानीय शिक्षाप्रेमी, समाजसेवी, विकासप्रेमी युवा, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“सफाइ हाम्रो जिम्मेवारी हो — पवित्रता, सन्देश र एकताको भावनासँग छठ पर्व मनाऔं” भन्ने नारासहित कार्यक्रम जनता आधारभूत विद्यालय, जयपुरको प्राङ्गणबाट सुरु भई जयपुर गोठ, रामजानकी मठ, महारानी स्थान हुँदै छठ घाटसम्म सरसफाइ गरिएको थियो।
बिओपी बहादुरपुरका इन्चार्ज सुरेश बुढाथोकीले स्थानीयवासीको सहभागितालाई सरसफाइ अभियान सफल बनाउन महत्वपूर्ण ठहर गर्दै समाजिक कार्यमा सधैं सहयोगी हुने प्रतिबद्धता व्यक्त गरे। उनले सडक अतिक्रमण, फोहोर फाल्ने, पराल र भुस सडकछेउमा राख्ने जस्ता गतिविधिले समाज कुरूप र दुर्गन्धित बनेको र दुर्घटनाको जोखिम बढेको बताए।
स्थानीय युवा रामसिहासन कुशवाहाले क्लबले पहिलोपटक आयोजना गरेको सरसफाइ कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै यसको निरन्तरता आवश्यक रहेको बताए। कार्यक्रमका अन्त्यमा क्लबका अध्यक्ष सर्वजित महतोले युवाहरूको उत्साहले थप ऊर्जा दिएको उल्लेख गर्दै आगामी दिनमा पनि सफाइ र सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
क्लबका सचिव इन्दल महतोले युवामा असिम सम्भावना रहेको भन्दै गाउँ–टोलको विकास र समृद्धिमा युवा नेतृत्व निर्णायक भूमिका खेल्ने बताए।
कार्यक्रमले छठ पर्व नजिकिँदै सार्वजनिक स्थल र छठ घाट सफा राख्न स्थानीय युवालाई सचेत गराउने सन्देश प्रवाह गरेको छ।