×

सर्लाही । भारतसँग जोडिएका सर्लाही जिल्लाका विभिन्न सीमानाकामा बाक्लो सुरक्षाकर्मीहरूको उपस्थिति हुँदाहुँदै पनि राजस्व छलेर अबैध सामानहरूको तस्करी कार्य निर्वाध रूपमा जारी रहेको खुलासा भएको छ ।

स्थानीय स्रोतका अनुसार चाँडपर्वको अवसरमा तस्करी गर्ने गिरोहहरूले सिसौटिया–बंगल्वा सडकखण्ड अन्तर्गत नहर चौक हुँदै दर्जनौँ मोटरसाइकलमा ओभरलोड सामान दिनदहाडै बरहथवा र आसपासका बजारसम्म लैजाने गरेका छन् ।

मधुवनी र छतौना सिमाबाट ल्याइएका सामानहरू सिसौटिया, हरकठवा, बसबरिया स्थित सशस्त्र प्रहरीको बेश क्याम्प पार गर्दै हिरापुर र अन्य चोर बाटो हुँदै बरहथवा पुग्ने गरेको स्थानीयहरूले बताएका छन् । बलरा नगरपालिका अन्तर्गत पर्ने छतौनाको शेढवा–छन्की हुँदै ल्याइएका सामानहरू महिनाथपुरबाट बागमती पुल पार गरी रौतहटको माधोपुर, धरमपुर, समनपुर र गरुडा लगायतका स्थानहरूमा सजिलै पुगोस् भनेर वितरण गरिने गरेको छ ।

सुरक्षाकर्मीको उपस्थितिमा खुला तस्करी

सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी गुल्म (डीएसपीको कमान्डमा), सिमाप्रहरी चौकी सिमरा, गोडैता प्रहरी चौकी, बसबरिया सशस्त्र बेश क्याम्प, हिरापुर प्रहरी चौकी र सुन्दरपुर चौहर्वा सशस्त्र बेश क्याम्प सक्रिय रहँदा समेत तस्करी नियन्त्रणमा असफल हुनु सुरक्षातन्त्रप्रति गम्भीर प्रश्न खडा भएको छ ।

स्थानीयवासीहरूले प्रहरी प्रशासनमाथि दोहोरो व्यवहारको आरोप लगाउँदै आएका छन् । उनीहरूका अनुसार सामान्य नागरिकहरूले सीमा नजिकैको घरसम्म पुग्दा दिनमै तीनपटक चेकजाँच भोग्नुपर्छ तर तस्करीमा संलग्न मोटरसाइकलहरू भने दर्जनौँ चेकपोस्ट पार गरेर पनि सजिलै बरहथवा र आसपासका बजारसम्म पुग्छन् ।

“प्रहरी सेटिङ विना यति ठूलो मात्रामा तस्करी सम्भव छैन,” एक स्थानीयले आरोप लगाए ।

दर्जनौँ प्रहरी चौकी पार गरेर तस्करी

भारत–नेपाल सीमामा बाक्लो सुरक्षाकर्मी तैनाथ हुँदाहुँदै पनि सर्लाहीको सीमावर्ती क्षेत्रमा दिनदहाडै तस्करी भइरहेको प्रमाण खुलेको छ । सिसौटियाबाट बंगल्वा जाने सडकखण्ड अन्तर्गत नहर चौक नजिकै करिब आधा घण्टामै दर्जनौँ मोटरसाइकलमा ओभरलोड सामान खुलेआम गुडिरहेको देखिएको छ ।

यी मोटरसाइकलहरू भारतीय नाका सिमरा फेन्हरा हुँदै बत्रौल, गोडैता, सिसौटिया, बसबरिया, बंगल्वा र हिरापुर पार गर्दै बरहथवा सम्म पुग्ने गरेका छन् ।

“दिनदहाडै खुलेआम तस्करी हुन्छ, रातको अँध्यारोमा त झन् कति हुन्छ भन्ने हिसाबै छैन,” एक स्थानीयले गुनासो गरे ।

तस्करीमा प्रायः भारतीय बजारतर्फबाट ल्याइने दैनिक उपभोग्य सामग्री, लत्ता–कपडा, किराना सामान, चिनी, भुजाको पाकेट, हरियो तरकारी, दमकल तथा मोटरसाइकलका पार्टपुर्जा, ब्याट्री र भारतीय मिडिसिन लगायतका वस्तु समावेश हुने गरेका छन् । नेपालतर्फबाट भने चिनियाँ स्याउ, इलेक्ट्रोनिक सामान र नेपाली रक्सी भारतमा तस्करी हुने गरेको छ ।

वैध व्यवसाय संकटमा

स्थानीय बजारमा भारतीय सामानको प्रभुत्व बढ्दै जाँदा घरेलु उद्योग र व्यवसाय प्रतिस्पर्धात्मक क्षमताबाट वञ्चित हुँदै गएको व्यापारीहरूको गुनासो छ । उनीहरूले साँठगाँठसहित भइरहेको तस्करीले वैध व्यवसायलाई नै संकटमा पारेको बताए ।

सर्लाहीको सीमावर्ती सडकमार्गमा दिनदहाडै हुने तस्करी र प्रहरी प्रशासनको मौनताले राज्यको सुरक्षातन्त्रमाथि नै शंका उत्पन्न गरेको स्थानीयवासीहरूले बताएका छन् ।

Back to top