×

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा बागमती नदीको बीच भागमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

आइतबार अपराह्न करिब ३:४० बजे मुंगको दाल टिपेर घर फर्कने क्रममा अचानक बाढी आएपछि ११ जना महिला र ३ जना बालिका गरी १४ जना बीच नदीमा फसेका थिए।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहतका कार्यालयबाट सशस्त्र प्रहरी वरिष्ठ निरीक्षक यज्ञबहादुर योञ्जनको कमाण्डमा विपद् व्यवस्थापन (डीएम) टोली र रबर बोटसहित उद्धार कार्यमा खटिएको थियो।

टोलीले साँझ करिब ५ बजे रबर बोटको प्रयोग गरी नदीको बीच भागमा फसेका सबै १४ जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीले जानकारी दिएका छन्।

अचानक पानीको बहाव बढेपछि उनीहरू टापुमा फसेका थिए। तर समयमै उद्धार टोली पुगेर सुरक्षित रूपमा उद्धार गरेपछि सबै जना घर फर्किएको प्रहरीले जनाएको छ।

उद्धार कार्यमा इलाका प्रहरी कार्यालय गंगापिपराको टोली पनि सहभागी रहेको थियो।

Back to top