सर्लाही, हरिपूर्वा । लामो समयदेखि विवादित रहेको सर्लाहीको हरिपूर्वा नगरपालिकामा हालै विवाद साम्य भएपछि विकास निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढेका छन्। राजनैतिक दन्दका कारण ठप्प रहेको नगरपालिकाको विकास निर्माण कार्य गत वर्षको फाल्गुन महिनामा ११ औं नगरसभा बहुमतले सम्पन्न भएपछि मात्र पुनः सुरु भएको हो।
हरिपूर्वा नगरपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रले भौतिक पूर्वाधारको चरम अभाव झेल्दै आएको थियो। तर, हालै ८ करोडभन्दा बढीको लागतमा दुई वटा सामुदायिक विद्यालयको भवन निर्माण हुने भएको छ। हरिपूर्वा वार्ड ९ बसन्तपुरस्थित श्री राम जानकी माविमा तीन वटा भवन र वार्ड ८ का कन्या प्राविमा एक भवन निर्माण हुने नगरपालिकाको शिक्षा शाखा प्रमुख जनक काफ्लेले जानकारी दिए।
श्री राम जानकी माविमा बहु बर्षे (तीन बर्षे) संघीय विशेष अनुदान अन्तर्गत ८ करोड ५ लाख ९६ हजारको लागतमा विद्यालय, प्रशासनिक भवन, पुस्तकालय, र चमेना गृह निर्माण हुने जानकारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले दिएका छन्। यो निर्माण कार्य तीन बर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ। यस्तै, कन्या प्राविमा संघीय सरकारको २५ लाखको लगानीमा तीन काठे भवन निर्माण हुने भएको छ।
निर्माण कार्यको ठेक्का श्री नेशनल अपर जेभीले लिएको छ, जसले दुई बर्षभित्र भवन निर्माण सम्पन्न गर्ने प्रमुख प्रशासकीय अधिकृत साहले बताए।
नगरप्रमुख विनोद कुमार साहले शिलान्यास कार्यक्रममा बोल्दै स्थानिय तहमा निर्वाचित भएलगत्तै दुई बर्ष विवादमै बितेको गुनासो गरे। गत आर्थिक बर्षको जेठ र असारमा मात्र विकास निर्माणका कार्यहरू सुरु हुन सकेको उनले बताए।
उनले भने, “जे भयो, सबै नमुनाकै रूपमा भयो। यसअघि यस्तो कार्य भएको थिएन।” उनले आफ्नो चुनावी एजेन्डामा पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य रहेको बताउँदै यस क्षेत्रमा उल्लेखनीय कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे। कृषि र अन्य पूर्वाधारमा पनि जोड रहने मेयर साहको भनाई छ।
दुई बर्षदेखि विवादित रहेको हरिपूर्वा नगरपालिकामा सहमति भएपछि विकास निर्माण कार्यले तीव्रता पाएको हो। प्रमुख प्रशासकीय सरुवा र केही जनप्रतिनिधिहरूको बाधा अवरोधले गर्दा विकास निर्माण कार्य प्रभावित हुँदै आएको थियो।
हालै मेयर विनोद कुमार साह र उपनगर प्रमुख सुमिन्त्रा देवी ग्वारिनले दुवै विद्यालयका भवनहरूको संयुक्त रूपमा शिलान्यास गरेका छन्। स्थानिय तहको विश्वास अनुसार, यो भवन निर्माणले हरिपूर्वा नगरपालिकाको शैक्षिक तथा प्राविधिक शिक्षाको क्षेत्रमा क्रान्तिकारी सुधार ल्याउने आशा गरिएको छ।