वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१३ राधेमाई टोलमा एक विवाहित महिलाको मृत्यु प्रकरणमा कर्तव्य ज्यानको जाहेरी दर्ता नगरेको आरोप लगाउँदै पीडित पक्षले आइतबार वीरगञ्जमा पत्रकार सम्मेलन गरेको छ।
पत्रकार सम्मेलनमा भारतको बिहार राज्य, बेतिया जिल्ला, मैनाटाड प्रखण्ड–७ निवासी असरफ अलीले आफ्नी छोरी खुशवुन खातुनको मृत्यु शंकास्पद रहेको दाबी गर्दै घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।
असरफ अलीका अनुसार उनकी छोरी खुशवुन खातुनको विवाह करिब पाँच महिनाअघि वीरगञ्ज–१३ निवासी अरवाज आलमसँग मुस्लिम परम्परा अनुसार भएको थियो। विवाहपछि केही समयसम्म अवस्था सामान्य रहे पनि पछिल्लो समय दाइजोको विषयलाई लिएर छोरीमाथि शारीरिक तथा मानसिक यातना हुने गरेको आरोप उनले लगाए।
पीडित पक्षले अरवाज आलमको अर्को युवतीसँग सम्बन्ध रहेको र त्यस विषयमा खुशवुनले विरोध गरेपछि उनीमाथि थप दबाब तथा दुर्व्यवहार गरिएको दाबी गरेको छ। परिवारले पटक–पटक सम्झाउने प्रयास गर्दा समेत प्रतिवादी पक्षबाट धम्कीपूर्ण व्यवहार भएको आरोप पत्रकार सम्मेलनमा दोहोर्याइएको थियो।
पीडित पक्षले २०८३ असार ३ गते बिहान करिब १ बजे खुशवुन खातुनको योजनाबद्ध रूपमा हत्या गरिएको र घटनालाई आत्महत्याजस्तो देखाउन सिलिङ पंखामा झुन्ड्याइएको दाबी गरेको छ। उक्त घटनामा आस महमद मिया, उनकी पत्नी तैमुल खातुन र छोरा अरवाज आलमको संलग्नता रहेको आरोप लगाइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै पीडित परिवारले आफूहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिन खोज्दा समेत जाहेरी दर्ता नगरिएको दाबी गर्दै न्यायका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। प्रहरीले घटनासम्बन्धी तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताएको छ। हालसम्म पीडित पक्षले लगाएका आरोपहरू अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेका छन्।