×

सर्लाही । सर्लाही जिल्लाको पश्चिमी क्षेत्रमा रहेका शान्ति सुरक्षाको हिसाबले चुनौतीपूर्ण मानिएका इलाका प्रहरी कार्यालय (इप्रका) गडहिया डुमरिया र हरकठवाका प्रमुखहरु आफ्नो कार्यकाल पूरा गरी विदाई भएका छन्।

बलरा नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका वरिष्ठ प्रहरी नायब निरीक्षक गौरीशंकर साह र धनकौल गाउँपालिकास्थित हरकठवा इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक धुली सिंह जिम्बा आफ्नो कार्यकाल पूरा गरी "भेरी भेटौला" भन्दै दुबैजनाको विदाई भएको हो।

प्रहरी अधिकारीहरुले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउँदै जनताको हृदयमा बस्न सफल भएका थिए। शान्त, शालीन, भद्र, र असल स्वभावका साथै कडाइका साथ नियम कानुन लागू गर्ने क्रममा उनीहरूले समुदायसँग घनिष्ठ सम्बन्ध स्थापना गरेका थिए। यसैले गर्दा, जब उनीहरू आफ्नो कार्यकाल पूरा गरी विदा भए, स्थानीय बासिन्दाहरूले पनि विदाई कार्यक्रममा उपस्थित भएर उनीहरूलाई सम्मान व्यक्त गरे।

हरकठवा र गडहिया डुमरिया दुबै क्षेत्रमा राजनीतिक द्वन्द्वका कारण शान्ति सुरक्षा कायम गर्न चुनौतीपूर्ण भए पनि, यी प्रहरी प्रमुखहरूले आफ्नो जिम्मेवारी सुझबुझका साथ पूरा गरेका थिए। आफ्नो कार्यकालमा स्थानीयहरुको साथ र सहयोगका लागि धन्यवाद दिँदै, उनीहरूले कठिन परिस्थिति र राजनीतिक दबाबका बावजुद शान्ति सुरक्षाका कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गरेका छन्।

प्रहरी प्रमुखहरुले आफ्नो कार्यकालभन्दा अगावै सरुवा हुनुपर्ने, राजनीतिक प्रतिशोधमा सरुवा गराउने, अथवा राजनीतिक डर र त्रासका कारण कार्यक्षेत्रमा बस्न नचाहने प्रवृत्तिका कारण अन्य अधिकारीहरुले चुनौतीपूर्ण मान्ने क्षेत्रमा पनि यी दुई प्रहरी अधिकारीले शान्ति सुरक्षाको सुनिश्चितता प्रदान गरेका थिए।

Back to top