महोत्तरी । भंगहा नगरपालिकामा दुई दिनदेखि कामकाज ठप्प भएको छ। नगरपालिका कार्यालयमा कार्यरत छैठौं अधिकृतस्तरका कर्मचारी सूर्यनारायण ठाकुरमाथि सोमबार वडा नं। ९ का स्थायीवासी मुकेशकुमार यादवद्वारा हातपात र अभद्र व्यवहार भएको घटनाको विरोधमा कर्मचारीहरू आन्दोलित भएका छन्।
यस घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै, कर्मचारीहरूले मंगलबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारेका छन्। नगरपालिका कार्यालयमा कामकाज ठप्प हुँदा सेवाग्राहीहरूलाई कठिनाइ भोग्नुपरेको छ।
कर्मचारीहरूले यादवमाथि कडा कारबाहीको माग गर्दै, नगरपालिकामा काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताउँदै आएका छन्। घटनाले राष्ट्रसेवक कर्मचारीहरूको जीउज्यानको असुरक्षा, डर, भय र त्रासको वातावरण सिर्जना गरेको भन्दै, कार्यालयमा काम गर्न असहज भएको उनीहरूले बताएका छन्।
यसका साथै, सेवा ठप्प हुँदा सेवाग्राहीहरूलाई पर्नसक्ने असुविधाका लागि कर्मचारीहरूले क्षमायाचना गरेका छन्। तर, यो स्थितिको सम्पूर्ण जिम्मेवारी मुकेशकुमार यादवले लिनुपर्ने उनीहरूको दाबी छ।