×

सर्लाही । सर्लाही जिल्लामा प्रहरीले सात लाख रुपैयाँ बराबरको १० टन चिनी बरामद गरेको छ। इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका वडा नम्बर ५, सखुवनी टोलबाट मिनी ट्रकसहित उक्त चिनी बरामद गरेको हो।

प्रहरीले जानकारी दिएअनुसार बागमती प्रदेश ०३-००१ ख १६०० नम्बरको मिनी ट्रक बयलवासबाट सिन्धुलीतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको थियो। ट्रक जाँचका क्रममा बिलविजकमा कैफियत भेटिएपछि प्रहरीले उक्त चिनी बरामद गरेको हो। ट्रकमा ५० किलोग्रामका २०० बोरा चिनी रहेको बताइएको छ।

घटनासँगै ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका वडा नम्बर २ निवासी ३७ वर्षीय झलक लिम्बूलाई पनि नियन्त्रणमा लिइएको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा पठाइएको इलाका प्रहरी कार्यालय केश्वरगञ्जका प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए।

Back to top