सर्लाही । सर्लाहीको बलरा नगरपालिकाले यूवासँग नगरप्रमुख कार्यक्रम सुरुवात गरेको छ । बलरा नगरपालिका वडा नम्बर १० सुदामा स्थित महादेव जनता प्राथमिक विद्यालयको सभा हलमा युवासँग नगर प्रमुख कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा नगरप्रमुख रामाशंकर कुशवाहसमक्ष युवाहरुले आफ्नो गाउँठाउँका विकास निर्माणको अवस्था, प्राथमिकतामा पर्न नसकेका योजनाहरु, समस्या लगायतका बारेमा जिज्ञासा राखेका थिए ।
नगर प्रमुख कुशवाहले युवाका जिज्ञासा र गुनासोको सम्बोधन गर्दै आगामी नीति तथा कार्यकममा युवालक्षित योजनालाई प्राथमिकता दिने धारणा राखे । युवाबाट प्राप्त सल्लाह र सुझावका आधारमा बजेट विनियोजन गर्ने, ओझेलमा परेका तथा नगरका प्राथमिकतामा पर्न नसकेका विकास निर्माणलाई समेटी र उनीहरुको गुनासो र समस्याहरुलाई समाधान गर्ने प्रतिबदता पनि उनले व्यक्त गरे ।
बलरा नगरपालिकाले संचालन गरेको यूवासंग मेयर कार्यक्रमले युवाका समस्या र जिज्ञासालाई मेयरसमक्ष राख्ने अवसर प्राप्त भएको सहभागी यूवा कुशेश्वर पटेलले बताए । नगरका हरेक ठाउँमा भएका फरक फरक समस्या र चुनौतीका बारेमा युवाले आवाज उठाउनुपर्नेमा जोड दिँदै उनले यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
बलरा नगरपालिकाले पहिलो पटक यूवासँग पुग्नका लागि वृहत युवासँग मेयर कार्यक्रम सुरुवात गरेको नगरप्रमुख कुशवाहले बताए । युवाहरुको भावना, इच्छा, आकांक्षा, अनुसार नगरपालिकाको कार्य र व्यवस्था संचालन गर्नका लागि यस कार्यक्रमले सघाउ पुग्ने उनको विश्वास छ । साथै युवाबाट आवश्यक सल्लाह सुझाव लिएर सोहीअनुसारको नीति निर्माण तथा कार्यन्वयन गर्ने उनले बताए ।
बलरालाई शिक्षित र समृद्ध बनाउनका लागि युवाहरुलाई रोजगारीमा बढावा गर्ने खालका कार्यक्रमको अवधारणाका बारेमा सल्लाह सुझाव दिन पनि उनले युवासँग अनुरोध गरेका छन् । नगरमा सुशासन कायम गरी समृद्धीको बाटोतर्फ अग्रसर हुने अभियानमा सहयोग गर्न पनि उनले युवालाई आह्वान गरेका छन् ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुशिल कुमार साह, वडा अध्यक्ष दिनेश महतो, कार्यपालिका सदस्य लगायत नगरका ११ वटै वडाका यूवाहरुको सहभागिता रहेको थियो ।