सर्लाही । सर्लाहीको दक्षिणी पश्चिमी भु–भागमा अवस्थित सिमावर्ती क्षेत्रमा पर्ने बिष्णु गाउँपालिकाका एक दलित विपन्न किशोरीलाई उच्च शिक्षा सम्म अध्ययनका लागि एक मनकारी व्यक्तिले छात्रवृत्ति दिने भएका छन् ।
आर्थिक अभावमा पढाईलाई निरन्तरता दिन कठिनाई हुँदै आएको बिष्णु गाउँपालिका –१ बाराउधोरण निवासी जिमदार रामको १४ बर्षिय छोरी निगमा कुमारी रामलाई शिक्षाप्रेमी महेश बख्रेलले कक्षा १२ सम्म पढाईका लागि छात्रवृत्ति दिने भएका हुन् ।
नृत्य र पढाईमा अब्बल रहेकी किशोरी हाल बिष्णु गाउँपालिका ३ स्थित श्री जनता माद्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छिन् ।आर्थिक अवस्था कमजोर रहेकी युवती सानैदेखि गोडैता–२ जयपुरस्थित मामा घरमै बसेर पढीरहेकी छिन् ।
सामाजिक अभियन्ता शिवनाथ कहारको पहलमा शिक्षा प्रेमी व्यक्ति बख्रेल युवतीको परिवारिक अवस्था बुझ्न र उनको परिवारसँग कुराकानी गर्न काठमाडौबाट सर्लाही आएका थिए ।
पत्रकार राधेश्याम कुशवाहाको अनुरोधमा दलित जेहेन्दार युवतीको छात्रवृत्तिको पहलका लागि जयपुर आएको सामाजिक अभियन्ता शिवनाथ कहारले बताए । आर्थिक अवस्था कमजोर रहेका कारण युवतीको कलिलो उमेरदेखि नै आमा पक्षको हजुरबाले पालनपोषण गर्दै आएको स्थानीय सुरेन्द्र महराले बताए ।
आर्थिक अभावमा किताब, कपी र कलम लगायत शैक्षिक सामग्री समेत किन्न समस्या हुँदै आएको स्थानीय महराको भनाई छ । बुबा लागुऔषध दुर्व्यसनी रहेका कारण किशोरीको आमाले अरुको खेतबारी र घरमा मजुदुरी गर्दै जसोतसो परिवार चलाउदै आएकी छन् ।
फुसको घर हावाहुरीले भत्काइदिएका कारण सबै परिवारलाई माईतीको घरमा बस्नुको विकल्प नरहेको युवतीको आमा मन्जु देवीले दुखेसो पोखिन् ।
आफनो २ वटा बुहारी सहित दर्जनौं नातिनातिना रहेका कारण आफनो परिवार चलाउन समस्या हुँदै आएको गोडैता–२ जयपुर निवासी युवतीको हजुरबुबा बिगु रामले बताए । उनले भने, ‘नातिनी निगमा उच्च शिक्षा पढेर ठूलो मान्छे बन्न चाहन्थिन् तर उसलाई पालन नै समस्या छ, अगाडी पढाईको खर्चका लागी हामी असमर्थ छौ, तर तपाईंहरु आएर शैक्षिक सामग्री र पठनपाठनमा सहयोग गर्ने आश्वासन दिएपछी नयाँ आशा जागेको र आफनो तर्फबाट समेत घरमा पढाईको वातावरण निर्माणका लागि कुनै कसर बाकी राख्ने छैनौ ।’
किताब, कोपी सहित अन्य सहयोगी किताब किन्न समस्या हुँदै आएको र साईकल बिग्रेका कारण समेत ३ किमि टाढाको विद्यालय पैदल जानुपर्ने बाध्यता रहि आएको युवतीले निगमा कुमारी रामले बताईन् । कोचिङ गर्न मन भएपनी फी तिर्न नसकेको कारण पढ्न नपाएको र पढाईका शैक्षिक सामग्री सहित अन्य सहयोग प्राप्त भैइरहयो भने आफू मन लगाएर पढने युवती निगमाले विश्वास दिलाईन् ।
यता, छात्रवृत्ति पाएकी युवतीले अन्य दलित तथा विपन्न बालबालिकाका लागि रोलमोडेल बन्नु पर्ने सामाजिक अभियन्ता शिवनाथ कहार बताउँछन् ।
‘धेरै दलित बालबालिका छन्, जसले आर्थिक अभावमा विद्यालय पढाईलाई निरन्तरता दिन सकिरहेका हुदैनन् । हामीले सबैलाई त सहयोग गर्न सक्दैनौं, केही सिमित बालबालिकालाई सहयोग गर्छौ, उनले भने । ताकी उनीहरुबाट अरुले पनि पाठ सिकोस् ।’
सहयोग पाएर उच्च शिक्षा पाएका युवतीले समाजमा उदाहरणिय काम गरेर अरुलाई प्रेरित गरून् र आफू जस्तो आर्थिक अभावमा पढाईलाई निरन्तरता दिन नसकेका प्रतिभा भएका बालबालिकाको पढाईमा सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
अध्ययन गर्न पारिवारिक आर्थिक असहजता भएकोमा निगमाको अध्ययन प्रतिको लगावलाई सहजीकरण गर्नका लागि शैक्षिक सामाग्री, विद्यालय पोशाक, विद्यालयमा लाग्ने शुल्क ब्यहोर्ने गरि कक्षा १२ सम्म अध्ययन गराउने जिम्मेवारी पारिवारिक सहमती तथा अन्य सरोकारवाला हरुसङको समन्वयमा लिने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।