×

सर्लाही । सर्लाहीको बरहथवामा एक महिलाको मृत्यु घटनामा माइती पक्षले हत्या भएको आरोप लगाएका छन् । बरहथवा नगरपालिका वडा नम्बर ६ निवासी धरमविर महतोको श्रीमती अन्दाजी १९ बर्षिय आरती कुमारी महतो गएको चैत्र २४ गते आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । उक्त घटनामा यूवतीको मृत्यु नभई हत्या भएको माईती पक्षको दावी छ । 

हरिवन नगरपालिका वडा नम्बर १ भोक्टेनी माइती भएको मृत महिलाको एक बर्ष अगाडी मात्र बरहथवा निवासी २४ बर्षिय धरमविर महतोसँग समाजिक परम्परा अनुसार विवाह भएको थियो । बिहे पछि छोरीलाई थप दाईजो ल्याउन दवाव दिदै शरीरिक, मानसिक यातना दिनुको साथै शरिरिक शोषण समेत गर्दै आएको माइती पक्षको आरोप छ । 

माईती पक्षले केटा लागुऔषध दुव्र्यसनी समेत रहेको दावी गरेका छन् । अरु ठाउँमा बिहे गरेको भए २० औं लाख पाउँथे, यि कुलक्ष्नीसँग छोराको बिहे गरेर केही पाइन भनी दिनहुँ दिदीलाई ताना दिदै आएको मृतक युवतीको कान्छी बहिनी सुशिला कुमारी महतोले बताईन् । 

घटना भएको दिन आफू दिदीको सुसुरालीमै रहेको र बहिनी झुण्डिएको अवस्थामा मृत फेला परेपनि उनिहरुको परिवारको कुनै पनि सदस्यमा चिन्ता नदेखीनु शंकाको बिषय भएको मृतककी बहिनी सुशिलाको कथन छ । ‘दिदीको ससुराले रातिमा दिदीसँग खुटा थिच्न समेत बाध्य बनाउँदै आएको थिए, जुन एउटा कुनै पनि परिवारमा बुहारीका लागि अपाच्य कुरा हो’, बहिनी सुशिलाले भनिन् ।

दिदीको मृत्यू पछि आफूलाई अर्काे कोठामा बन्धक बनाएर राखेको र जति कराए, चिच्याए पनि आफूलाई दिदीसँग भेट्न रोक लगाएको बहिनी सुशिलाले बताईन् । ‘दिदीलाई झुण्डिएको अवस्थामा देख्नु, मेरो लागि भयानक दिन थियो, घटना भएपछि दिदीलाई एम्बुलेन्समा राखेर बरहथवा स्थित प्राथमिक स्वास्थ केन्द्रमा लगेको थियौँ । र म त्यहाँ पटकपटक बेहोस भएको थिएँ’, बहिनी सुशिलाले भनिन् । भिनाजुले आफ्नो ३ जना साथी लगाएर मलाई आफ्नो अर्काे घरमा एक घण्टा बन्धक बनाएर राखेको र आफू जति चिच्याए, कराएपनि दिदीलाई राखेको अस्पतालमा जान नदिएको सुशिलाको भनाई छ । 

घटना भएको दिन नै सासुले कतारमा रहेको दाईसँग दाईजोका विभिन्न समानहरु बाँकी नै रहेको र यसको परिणामका लागि तयार रहन चेतावनी दिएको मृतक यूवतीका काका ज्ञानी महतोले बताए । 

भतिजीको न्यायका लागि आफू घटना भए लगत्तै चैत्र ३० गते कतारबाट स्वदेश फर्केको उनले बताए । परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण दाई र आफूसँग कतारमा मजुदुरी गर्दै आएको र भतिजिको न्यायका  लागि कहीँ कतैबाट सहयोग नपाएको दुखेसो उनले पोखे । 

भतिजिको ससुराली पक्ष धनी र राजनीतिक पहुँच भएका कारण घटना बारे प्रहरी समेत संवेदनशिल नभएको उनको आरोप छ । यद्यपि प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले पति, सासु र ससुरा विरुद्व कर्तव्य ज्यान उद्योगमा जाहेरी दर्ता नगरेपछि पिडित परिवारले आत्महत्या दुरुत्साहनमा इलाका प्रहरी कार्यलय, बरहथवामा किटानी जाहेरी दर्ता गराएका छन् ।  

पति धरम विर महतो, ससुरा रंजित महतो र सासु शिला देवी समेत मिलि छोरी आरती कुमारी महतोलाई माईतीबाट दाईजो नल्याएको भनी शारिरीक र मानसिक यातना दिएर हत्या गरेको माइति पक्षले दिएको जाहेरीमा उल्लेख छ । ‘दाइजो मागेर ल्याउ नत्र तलाई मारी दिन्छौं भनी डरत्रास दिदै आइ रहेको र छोरीको पतिले छोरी आरतीसँग बारम्बार सुनको सिक्री ल्याउनु भनी डरत्रास देखाएको र सो कुरामा छोरीको ससुरा र सासु समेतले साथ दिई निज छोरीलाई बारम्बार मानसिक र शरिरिक यातना दिने गरेको बाट जेठी छोरीलाई आत्महत्या गर्न बाध्य बनाएको जोहरीमा उल्लेख छ ।  

पिडित परिवारले सास, सासु र पति विरुद विरुद आत्महत्या दुरुत्साहन कसुरमा किटानी जाहेरी दर्ता गराएका छन । इलाका प्रहरी कार्यलय, बरहथवाले चैत्र २९ गते किटानी जाहेरी दर्ता गरी मृत महिलाको ससुरा रंजित कुमार महतोलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ ।

पिडित परिवारको किटानी जाहेरीको आधारमा इलाका प्रहरी कार्यलय बरहथवा, सर्लाहीले आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दर्ता गरी अनुसन्धान सुरु गरेको डिएसपी गौतम थापाले बताए । घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुन अनुसारको कारवाही गरिने र पिडितलाई न्याय दिलाउने सवालमा प्रहरी प्रतिबद रहेको उनको भनाई छ । 
 

Back to top