वीरगञ्ज । जङ्गलबाट अवैध तरिकाले चोरी तस्करी गरेर सालको काठ ल्याइरहेको अवस्थामा पर्साबाट एक व्यक्ति पक्राउ परेका छन् ।
सब डिभिजन बन कार्यालय रङ्गपुरटाँडीको गस्ती टोलीले मङ्गलबार बिहान पर्साको सखुवाप्रसौनी गाउँपालिका – ४ कल्याणपुरमा जङ्गलबाट चोरी तस्करी गरेर साइकलमा लोड गरी ल्याइरहेको अवस्थामा १५ क्यूफिटको चार वटा सालको काठको गोलियासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
जङ्गलबाट साइकलमा लोड गरेर सालको काठ ल्याइरहेको विशेष सूचनाको आधारमा पर्सा जिल्ला कै बहुदरमाई नगरपालिका – ८ रामनगरी निवासी रामेश्वर पटेललाई काठ र साइकलसहित नियन्त्रणमा लिइएको सब डिभिजन बन कार्यालय रङ्गपुरटाँडीका जमदार अर्जुन चौधरीले जानकारी दिए ।
जमदार चौधरीका अनुसार पटेलसहित अन्य तिन जनाले चार वटा साइकलमा लोड गरेर सालको काठको गोलिया लिएर आइरहेका थिए । यद्यपि बल गस्ती टोलीलाई देख्न साथ अन्य तिन जना साइकल र काठ छोडेर फरार भए । ‘हामीहरूले काठ र साइकलसहित एक जनालाई मात्र नियन्त्रणमा लिन सक्यौँ,’ उनले भने ।
बरामद गरिएको काठ अन्दाजी १५ क्यूफिटको रहेको रेञ्जर कपिलदेव यादवले बताए । उनीहरूको खोजी कार्य जारी रहेको यादवले बताए ।
जिल्लाको ग्रामीण क्षेत्रमा रहेको बन जङ्गलबाट दिनहुँ काठ, जङ्गली जनवारलगायतको तस्करी हुने गरेको छ ।