वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर चौकबाट प्रहरीले बिलबिजकविहीन १० वटा भैँसीका पाडोसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको कमान्डमा खटिएको अपरेसन टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ०२–०३–००१ च ४००३ नम्बरको बोलेरो गाडीलाई शङ्का लागेर जाँच गरेको थियो ।
जाँचका क्रममा गाडीमा आवश्यक बिलबिजकबिनै ओसारपसार गरिँदै गरेका १० वटा भैँसीका पाडो फेला परेपछि प्रहरीले गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा पर्साको कालिकामाई गाउँपालिका–५ निवासी लक्ष्मण ठाकुरका छोरा ३५ वर्षीय विजय शर्मा, धोबिनी गाउँपालिका–३ निवासी ६१ वर्षीय बिकरमा राउत कुर्मी तथा धोबिनी गाउँपालिका–५ निवासी ५५ वर्षीय होडा देवान रहेका छन् ।
प्रहरीले भैँसीका पाडो, बोलेरो गाडी तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा ल्याई प्रक्रिया पूरा गरी भन्सार कार्यालय वीरगञ्ज पठाइएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा बिलबिजकविहीन वस्तु तथा पशुचौपाया ओसारपसार नियन्त्रणका लागि नियमित निगरानी र चेकजाँचलाई निरन्तरता दिइएको जनाएको छ ।