×

वीरगञ्ज । पर्साका ग्रामीण क्षेत्रमा लगाइएको चैते धानबालीमा फड्के किराको प्रकोप बढ्दै गएपछि किसानहरू चिन्तित बनेका छन् । धान रोपेको १५ देखि २० दिन नबित्दै किराले बालिमा आक्रमण गर्न थालेको किसानहरूको गुनासो छ ।

सखुवा प्रसौनी गाउँपालिका–५ का किसान शुभनारायण यादवका अनुसार फड्के किराको आक्रमणका कारण धानबालीका पात रातो तथा पहेँलो हुँदै सुक्न थालेका छन् । उनले पटक–पटक विषादी छर्दासमेत बालीमा सुधार नआएको बताए ।

त्यस्तै जिराभवानी गाउँपालिका का किसान बिन्दा साहले यसअघि यस्तो समस्या नदेखिएको उल्लेख गर्दै यस वर्ष सयौं बिगाहा क्षेत्रफलमा लगाइएको धानबाली नै नष्ट हुने अवस्थामा पुगेको बताए ।

किसानहरूका अनुसार अधिकांश ग्रामीण क्षेत्रमा लगाइएको धानबाली फड्के किराको प्रकोपबाट प्रभावित भएको छ । बिउ, खेत जोताइ, रोपाइँ, सिँचाइ तथा मलखादमा ठूलो लगानी गरेपछि अहिले किराको प्रकोपले थप समस्या सिर्जना गरेको उनीहरूको भनाइ छ ।

धानबाली नष्ट हुने अवस्था आएपछि लगानी उठ्ने कि नउठ्ने तथा घरपरिवारको खाद्यान्न व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ताले किसानहरू तनावमा परेका छन् ।

किसानहरूले फड्के किराको नियन्त्रणका लागि सम्बन्धित कृषि निकायले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन् ।

Back to top