×

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकबाट प्रहरीले करिब १०० किलोग्राम गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आइतबार खेतमा लुकाइराखिएको अवस्थामा पाँच बोरामा रहेको गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार विशेष सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा खेतमा लुकाएर राखिएको पाँच बोरा गाँजा नियन्त्रणमा लिइएको हो।

बरामद गरिएको गाँजा हाल प्रहरीको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त गाँजा कसले लुकाएर राखेको हो भन्ने विषय अझै खुल्न सकेको छैन। संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य तीव्र पारिएको सूचना अधिकारी बस्नेतले जानकारी दिएका छन्।

प्रहरीले लागूऔषध ओसारपसार तथा तस्करीमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ।

Back to top