×

वीरगञ्ज । वीरगञ्ज–१३, श्रीपुरस्थित गुरुद्वारा गुरु नानक सत्संगको आयोजनामा श्री गुरु अर्जुन देव जीको शहीदी दिवस श्रद्धापूर्वक मनाइएको छ। शहीदी दिवसको अवसरमा मानव सेवा आश्रममा जलपान वितरण कार्यक्रम आयोजना गर्दै सत्य, सेवा, त्याग र मानवताको सन्देश प्रवाह गरिएको हो।

“सबै मानव एक हुन्, प्रेम र सेवाको मार्गमा अघि बढौं” भन्ने मूल भावका साथ सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो। सहभागीहरूले श्री गुरु अर्जुन देव जीले मानवता, सहिष्णुता, त्याग र निःस्वार्थ सेवाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँका आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए।

कार्यक्रमका अवसरमा जीएचपी सेकेन्डरी स्कुलका संस्थापक प्रमुख रोमी गैरले समाजमा प्रेम, सद्भाव र सेवाको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले शहीदी दिवसका अवसरमा गरिने सामाजिक तथा सेवामूलक गतिविधिले सकारात्मक सोच, हौसला र आत्मविश्वास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजक गुरुद्वारा प्रबन्धक समितिले श्री गुरु अर्जुन देव जीको जीवन र आदर्शबाट प्रेरणा लिएर सत्य, सेवा, त्याग र मानवताको मार्गमा अघि बढ्न सबैमा आग्रह गर्दै शहीदी दिवसको अवसरमा मानव सेवा आश्रममा जलपान वितरण कार्यक्रम आयोजना गरिएको जनाएको छ।

Back to top