×

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिले आर्थिक वर्ष २०८०/८१ का लागि नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आइतबार गाउँपालिका कार्यालयमा ११ औँ गाउँ सभा मार्फत आर्थिक वर्ष २०८०/८१ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको हो ।
 
गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ६३ करोड २९ लाख ९६ हजार २ दुई सय २५ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले जानकारी दिए ।

गाउँपालिकाका सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँ सभा सदस्यहरूको उपस्थिति भएको कार्यक्रममा अध्यक्ष यसवन्त यादवले चालू आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास, रोजगारी र खेलकुद आफ्नो प्रमुख प्राथमिकता भएको बताए ।

त्यस्तै गाउँपालिकाको मूल सडक कालोपत्रे गर्ने, विद्यार्थी अनुपातमा स्वयम् सेवक शिक्षक भर्ना गर्ने, विद्यालयहरूका लागि विशेष अनुदानको व्यवस्था गर्ने, गत वर्षदेखि उपलब्ध हुँदै आएको नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिने, नि:शुल्क रूपमा कृषकलाई एक्स्काभेटर उपलब्ध गराउने, पञ्चगाँवामा १५ शय्याको आधारभूत स्वास्थ्य चौकीको व्यवस्था गर्ने, सर्प दंश र कुकुरको टोकाइबाट घाइते हुनेहरूको नि:शुल्क उपचार गर्ने, जमुनिया खोलाको टेन्डर गरी गाउँपालिकाको आन्तरिक आय बढाउने जस्ता कामलाई प्राथमिकता दिइने अध्यक्ष यादवले बताए ।

कार्यक्रममा वडाध्यक्ष वासुदेव महतो, मोजामिल अन्सारी, असेश्वर यादवलगायत कार्यपालिका सदस्य, स्थानीय सञ्चारकर्मी प्रमोद यादव, राम किशोर चौधरी, चिरञ्जीवी यादव, बलिराम सुक्ला, सुरक्षाकर्मीलगायतले मन्तव्य राखेका थिए ।

Back to top