×

वीरगञ्ज, १२ अषाढ ।  नेपाली भाषा तथा साहित्यको संरक्षण एवम् प्रवद्र्धनका स्थापित २ संस्थाको सयुँक्त आयोजनामा ‘विश्व चौतारी सङ्गम’ भव्य रुपमा सम्पन्न भएको छ । साहित्यिक चौचारी नेपाल केन्द्रीय समिति र विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पछिल्लो पुस्ताहरुलाई पनि भाषा र संस्कृतिको बारेमा जानकारी गराउन यस्ता संस्थाहरु सहयोगी साबित भएको बताए । बढ्दो प्रविधि र अङ्ग्रेजी भाषाको बढ्दो प्रयोगले नेपाली भाषा र साहित्य ओझेलमा पर्ने चिन्ता व्यक्त गर्दै साहित्यिक चौतारी नेपाल र विश्व नेपाली साहित्य महासंघले सशक्त भूमिका खेल्नुपर्ने उप्रेतीको भनाई छ । 

कार्यक्रमलाई प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति आयामेली कवि वैरागी काइँला, पूर्व महामहिम राजदूत भीम उदास, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. जगमान गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा दर्शन विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्याय, काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेल, प्राज्ञ डा. बेन्जु शर्मा, प्राज्ञ कविता आले, डा. ज्ञानु अधिकारी, डा. घनश्याम परिश्रमी, डा. रामप्रसाद ज्ञवाली, डा. गार्गी शर्मा, शैलेन्द्र साकार, प्रा. प्रभा आचार्य, मोमिला जोशी, गीता खत्री, लगायतले साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार पूर्व कुलपति वैरागी काइँलालाई “विशिष्ट साधक सम्मान” प्रदान गरिएको थियो । विश्व नेपाली साहितय महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु (प्रदेशी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिन वटा पुस्तकसमेत लोकार्पण गरिएको थियो । 

साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीको “एक्काइसौँ शताब्दीमा हामी” कविता सङ्ग्रह, विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बुद्वारा लिखित “हामी आयामका भुइँमान्छेहरु” र साहित्य संसार गरी तिन वटा पुस्तकको लोकार्पण गरिएको थियो । 

डा. ज्ञानु अधिकारी र डा. घनश्याम परिश्रमीले पुस्तकमाथि समिक्षा गर्दै पुस्तकका सकारात्मक पक्ष एवम् समावेश हुन भएका केही त्रुटीहरु केलाएका थिए ।

प्राज्ञ डा. बेन्जु शर्मा, सरू बस्नेत, अर्जुन न्यौपाने, डा. नाज सिंह, शैलेन्द्र साकार, माया उपाध्याय, मणिराज सिंह, माधव बिडारी, कमला भण्डारी, श्यामकुमार श्रेष्ठ, विन्दा पराजुली, पिङ्की बोहरा, मनोज परियार, कुशुम प्यारी, राधिका कल्पित लगायतले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । 

सन्दीप सङ्ग्रौला दिलदुखीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण साहित्यिक चौतारी नेपालका केन्द्रीय सचिव रोशन तिमल्सिना र विश्व नेपाली साहित्य महासंघका कोषाध्यक्ष केवी पौडेलले गरेका थिए । 

स्वदेश तथा विदेशमा नेपाली भाषा एवम् साहित्यको संरक्षणसँगै प्रवद्र्धनका गर्ने अभिप्रायले स्थापित संस्थाले अग्रज साहित्यकारको सम्मान र नयाँ स्रष्टालाई प्रोत्साहन गर्न पनि विभिन्न किसिमका साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । 
 

Back to top