×

म चाहन्छु मलाइ कसैले किनोस्
र कम्तिमा यति मोलमा किनोस् ता कि
मलाई फेरि केही किन्नको लागी केही बेचिरहन नपरोस् 

सपनाहरू किन्न सपनाहरू बेच्न नपरोस्
खुसीहरू किन्न खुसीहरू बेच्न नपरोस्
र इज्जत किन्न इज्जत बेच्न नपरोस्

मेरो समय, मेरो ज्ञान, मेरो पौरख र मेरो क्षमता बेचेर
म मेरो आवश्यक्ता किन्न सकिन 
म मेरो सन्तुष्टि किन्न सकिन

बा आमाले जिन्दगीनै खर्चेर किनेको मेरो योग्यता बेचेर
म मेरो बा आमाका लागि थोरै खुसी किन्न त सकिन 
खै मसँग भएका बिक्री योग्य वस्तुहरू नै कमसल परे वा
किन्नेले उचित मोल दिन सकेन ।

मलाइ किन्नु छ
मलाइ गास किन्नु छ, बास किन्नु छ, कपास किन्नु छ,  
स्वास्थ्य किन्नु छ, शिक्षा किन्नु छ

म त यत्तिकै रहौँला तर कसैको लागी खुसी किन्नु छ सुख किन्नु छ 
म सँग भएका बिक्री योग्य वस्तुका मोल

र मैले किन्नुपर्ने वस्तुका मोलको अनुपात फिटिक्कै मिल्दैन 
जेनतेन उधारो किनेरै देखाएको छु यो उधारो हाँसो र यो उधारो मुस्कान

खै के बेच्नु पर्ने हो यो उधारो चुकाउन 
बेच्ने जस्ता कुरा सबै बेचिसक्दा पनि 
मैले किन्नु पर्ने कुराहरू अझै किन्न नसकेकोले 
म मलाइ नै बिक्रीमा राखेर आफैलाइ बेच्न चाहन्छु

तर किन्नेले कम्तिमा यति मोलमा किनोस् ता कि
मलाई फेरि केही किन्नको लागी केही बेचिरहन नपरोस् ।।
 

Back to top