×

वीरगञ्ज । साहित्यिक चौतारी नेपालले दसौँ वार्षिकोत्सव वीरगञ्जमा मनाएको छ । देश तथा विदेशमा गरी ४० वटा शाखा रहेको साहित्यिक चौतारी नेपालले भाषा तथा साहित्यसँगै पाठ्यक्रमका विषयमा ३ दिने कार्यशाला, ४ वटा पुस्तक बिमोचन तथा सम्मान कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । 

साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले कानून बनाउने क्रममा मैथली र भोजपुरी भाषालाई कामकाजी भाषा बनाउने गरि गृहकार्य भईरहेको बताए । सभामुख मण्डलले मधेशमा नेपाली भाषासहित भोजपुरी र मैथली भाषालाई कामकाजी भाषा बनाउनुपर्ने आवश्यकता औँल्याए । 

नेपाल देश सानो भएपनि विविधताले विश्वलाई प्रतिनिधित्व गरिरहेको बताउँदै उनले विविधता नै सुन्दरता भएकाले त्यसलाई व्यवस्थापन गर्न सके समाज सुन्दर हुने धारणा राखे । पाठ्यक्रम बनाउन शिक्षक, विद्यार्थी र अभिभावकलाई सामेल गराउनु पर्ने उनको भनाई छ । आयातित शिक्षाले हाम्रो ईतिहास मेटाउने काम भईरहेको भन्दै स्थानीय इतिहास र व्यक्तित्व ओझेलमा पारिएको उनले टिप्पणी गरे ।

कार्यक्रममा साहित्यिक चौतारी नेपालका वरिष्ठ सल्लाहकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य प्राध्यापक डा. देवि नेपाल, शिक्षा विभागका निर्देशक गणेश भट्टराई, मधेश प्रदेशका पूर्व सांसद सुन्दर विश्वकर्मा, मजदुर नेता आनन्द थामी, उपप्रधापक विरेन्द्र प्रसाद साह, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, सृजनाशील साहित्य समाजका पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारी लगायतको उपस्थिती रहेको थियो । 

वार्षिकोत्सवकै अवसरमा ४ वटा कृति विमोचन गरिएको थियो । गोम विक्रमद्वारा लिखित समयका प्रतिध्वनिहरु मुक्तक सङ्ग्रह, कमला भण्डारी ढकालको आधा जून मुक्तक सङ्ग्रह र शङ्कर ढकालको सारङ्गी वियोग खण्ड काव्यको विमोचन गरिएको थियो । सोही अवसरमा आजीवन सदस्यलाई प्रमाण–पत्र प्रदान गर्नुका साथै ३ दिनसम्म चलेको कार्यशालाका सहभागीलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो । 

गण्डकी प्रदेश शाखालाई उत्कृष्ट शाखा र तेह्रथुमको ईकाई समितिलाई उत्कृष्ट उपशाखाको रुपमा सम्मानित गरिएको थियो । साहित्यिक चौतारी नेपालकी कोषाध्यक्ष कमला ढकालले स्वागत गरेको कार्यक्रमको  सञ्चालन महासचिव रामप्रसाद संगमले गरेका थिए ।
 

Back to top