×

सदिऔँदेखि
ममाथि गरिएको विभेदविरुद्ध
एकमुठ्ठी आँट बटुल्दै
जब म भन्न थाल्छु
‘जात व्यवस्था मुर्दावाद !’
तिम्रो धड्कनको गति एक्कासि बढ्न थाल्दछ
हतासिँदै हतारिँदै
तिमी मेरो मुख थुन्न आइपुग्छौ र भन्न थाल्छौ
बिस्तारै बोल नत्र समाज भाँडिन्छ
बिस्तारै बोल नत्र संस्कृति तोडिन्छ

त्यसै क्षण

मेरो मस्तिष्कमा प्रश्नहरूको बाढी आउँछ
र म भित्रका कयौँ अनुत्तरित प्रश्नहरू
मलाई तिमीसामु
एकैपटक तेर्स्याउन मन लाग्छ
भन साथी
वेद सुनेकै भरमा सिसा पगालेर हाम्रा कानहरूमा हालिदिँदा
किन तिम्रो संस्कृति धर्मराएन?
प्रेम गरेकै निहुँमा नवराजहरूको लाश भेरीमा बगाइँदा
किन तिम्रो समाज भाँडिएन ?
बलात्कारपछि सम्झना कामीहरूको लाश
तिमीले पुज्ने देवताको मन्दिरमा भेटिँदा
तिम्रो धर्म किन ढलेन ?

तिमी आफ्नो छातिभित्र
क्रुरताको पहाड लुकाएर
कृत्रिम हाँसो र नम्र बोलीको जाल
ममाथि फ्याँक्छौ
र उदाहरणमाथि उदाहरण थप्दै भन्छौ

साथी
फक्रँदै गरेका फूलहरूलाई एकचोटी नियालेर हेर
कति बिस्तारै फक्रँदैछन्
जन्मदेखि मृत्युसम्मको समयलाई फर्किएर हेर
कति सुस्त सुस्त हिँड्दैछ
आफैँभित्र दौडिरहेको श्वासप्रश्वासलाई नियालेर हेर
कति मन्द मन्द गतिले चल्दै छ

तर
तिमीले दिएका उदाहरणहरू
ताँती लाग्दै, एकएक गर्दै
मेरो मुख थुन्न तम्सिएको भान हुन्छ मलाई
र म निसास्सिन्छु
तर निसासिएरै पनि तिम्रा
म तिम्रा भाष्यहरूको प्रतिरोध गर्छु

साथी
तिमी यति बुझ कि

कसैले बाँध बाँध्दैमा नदीको रफ्तार रोकिँदैन
अवरोधहरू भत्काएरै अगाडि बढ्छ
कठोर राप र तापमा पग्लिदैमा
फलाम कमजोर बन्दैन
बरु त्यो त बलियो इस्पात बनेर जन्मिन्छ

बस्, अब अति भो
अतिवादलाई सहँदा सहँदा अति भन्दा झन् खती भो

मलाई तिम्रो नम्र बोली नसुनाऊ
मलाई तिम्रो भ्रमित सुझावहरू नसुझाऊ
मलाई बडो धैर्यताको डोरीले बाँध्न नखोज
मलाई तिम्रा कथित न्यायका गीतहरू नसुनाऊ

किनकि
किनकि
म त तिमीले बाँचेकै समाजको आधा हिस्सा हुँ
जसले सदियौंदेखि
तिम्रो नम्र बोलीको क्रुरतालाई सहँदै आएको छ
जसले सदियौंदेखि
तिम्रा सुझावहरूको मार सहेको छ
जसले सदियौँदेखि
तिम्रा षड्यन्त्रकारी कुराको सार बुझेको छ

त्यसैले
त्यसैले आज म निर्भयतापूर्वक
तिम्रोसामु स्वयं उभिएको छु
दर्जनौं धारिला प्रश्नहरू लिएर
तिमीले दिएको राप र ताप सहेर

हो, म तिम्रो सामु उभिएको छु आज
तिमीले उहिले, नियम नै बनाएर चिन्न नदिएका
अक्षरहरूको सिङ्गो च्याप्टर नै लिएर
तिम्रो सामु उभिएको छु म आज
एक दरिलो मुटु लिएर !

चोखिन नखोज
चोखिन नखोज तिमी
मलाई भ्रमात्मक परिभाषामा रनभुल्ल पारेर
तिम्रोसामु आइपुगेको छु म आज
तिम्रा कर्तुतहरूको मुकुट उतार्न
चोखिन नखोज तिमी
कुतर्कहरूको बेलिविस्तार लगाएर

तिमी जति मलाई थुन्न खोज्छौ
तिमी जति मलाई थुन्न खोज्छौ
त्यति नै चिच्याएर नारा लगाइरहनेछु
जात व्यवस्था मुर्दावाद !
पितृसत्ता मुर्दावाद !
ब्राह्मणवाद मुर्दावाद !
ब्राह्मणवादी पितृसत्ता मुर्दावाद !
जात व्यवस्था मुर्दावाद!
जात व्यवस्था मुर्दावाद !

Back to top