×

वीरगञ्ज, ४ फाल्गुन ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित ४ तले घरमा मेरो कोठा छ । एकाबिहानै कोठाबाट निस्किएर छतमा जाने मेरो बानी । छतमा गएर यताउती नियाल्ने अनि शारिरीक अभ्यास गरेर मेरो बिहानी बित्थ्यो । प्रभातमा सँधै शान्त वातावरण, हरियाली, चिसो हावाको सिरेटो हुन्थ्यो । तर आज छतमा जाने बित्तिकै मेरा नजरले फरक दृश्य नियाले । केही दुर्गन्धित अनि कालो धुवाँको मुस्लो । यति बिहानै के भएछ भनेर कौतुहलता जागेर म धुँवा आइरहेको ठाउँसम्म पुगे । त्याँहा प्लाष्टिकजन्य फोहोरमा आगो लगाइएको रहेछ । फोहोरलाई जलाएर फोहोर नष्ट गर्ने बहानामा हामीले यसको दीर्घकालिन असरलाई निम्तो दिइरहेका छौँ । प्लाष्टिकजन्य फोहोरमा आगो लगाएर नष्ट गर्नु हेर्दा जति सामान्य लाग्छ, यो त्यति नै असामान्य थियो । यसबाट पर्ने प्रभाव दुर्गामी थियो । 

हामीले प्रयोग गर्ने हरेक सामाग्रीलाई पनि प्लाष्टिकमै प्याकिङ्ग गरिएको हुन्छ । यतिले मात्रै नपुगेर पसलबाट कुनै सामान खरिद गर्नुपरेमा पनि हामी प्लाष्टिककै झोलामा लिएर आउँछौ । प्लाष्टिकको प्रयोग नहुने सायदै कुनै काम होला ? यति धेरै उपयोगी प्लाष्टिकलाई हामी कसरी निरुत्साहित गर्न सक्छौँ ? भन्ने विषयमा सबैले गम्भिरताका साथ सोच्नुपर्ने देखिन्छ । प्लाष्टिकको प्रयोगलाई निरुत्साहिन गर्नकै लागि नेपालमा पनि थुप्रै प्रयासहरु भए । यद्यपी ति सबै प्रयास सफल भने हुन सकेका छैनन् । 

वीरगञ्ज महानगरपालिकालाई पनि वि.स. २०७५ साल पौष १७ गते प्लाष्टिक प्रतिबन्धित एवम् हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । तर यो घोषणामा मात्रै सिमित छ । कार्यन्वयन हुन सकिरहेको छैन । वीरगञ्ज महानगरमा न त प्लाष्टिक  छ, न त हर्न नै निषेध । हचुवाको भरमा बिना आधार घोषणा गर्नु महानगरको ठूलो अनि पहिलो कमजोरी भन्दा गलत नहोला । 

हर्न निषेधित र प्लाष्टिक प्रतिबन्धका लागि सर्वप्रथम योजना बनाएर यी विषयसँग प्रत्यक्ष सरोकार राख्ने सबैको उपस्थितीमा बहस र छलफल गरी बिकल्पको बारेमा सोचर त्यसको व्यवस्थापनमा लागेर आधारको निर्माण गरेपछि कार्यन्वयन गरेर मात्रै घोषणा गर्नुपर्नेमा महानगर यसमा चुकेको पाइन्छ । चर्काे हर्न बजाउने गतिविधि पनि पछिल्लो समय बढीरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चर्काे हर्न बजाउने सवारी साधनबाट सोली निकाल्ने अभियान नै अघि सारेको छ । चर्काे हर्नले पनि मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की बताउँछन् । 

हर्न बजाउँदा त मानिसहरु बिच बाटोबाटै हिँड्ने हुँदा हर्न नबजाउँदा झन दुर्घटनाको जोखिम बढ्ने सवारी चालक मनोज सिँहको प्रतिक्रिया छ । यस विषयका लागि पनि सडकको व्यवस्थापन हुनुपर्ने, फुटपाथको व्यवस्था गरेर पैदल यात्रुलाई छुट्टै हिँड्ने बाटोको विकास गर्नुपर्ने, साइकल ल्यान, जेब्राक्रसिगं जस्ता थुप्रै आधारहरु पुरा भए मात्र हर्न निषेधितको योजना सफल हुने ट्राफिक प्रहरी निरीक्षक कार्कीको भनाई छ । 

अब कुरा गरौँ प्लाष्टिकको । प्लाष्टिक प्रतिबन्धीत अभियान नारामा मात्रै सिमीत छ । प्लाष्टिकको तुलनामा आर्थिक भार पनि कम हुने र सहजै प्राप्त गर्न सकिने विकल्प के हुन सक्छ भनेर अध्ययन एवम् अनुसन्धान गरेर उत्पादन पनि गर्नुपर्ने आवश्यक्ता देखिन्छ । 

शुरुवाती चरणमा गरिएको बजार अनुगमनका क्रममा केही ठाउँबाट प्लाष्टिक र पोलिथिनको प्रयोगमा कमी भएको पाइएपछि फितलो व्यवस्था र अनुगमन नहुँदा पुनः त्यही अवस्थाको सृजना भएको छ । 

प्लाष्टिकजन्य पदार्थबाट वीरगञ्ज महानगर क्षेत्रमा भएको प्रदुषणलाई मध्यनजर गर्दै प्लाष्टिकको झोला, प्लाष्टिकको ग्लास कप तथा प्लेटहरुको प्रयोग निषेध गर्ने महानगरपालिकाले निर्णय गरेको थियो । प्लाष्टिकको झोला प्रतिबन्ध गर्नुपर्ने भन्दै सचेतनामुलक कार्यक्रम गर्दै आएका प्रकृति सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिँहले निर्णय कार्यन्वयवन हुन नसकेकोमा दुःख व्यक्त गरे । उनले भने, ‘शुरुमा निर्णय गर्दा नै कार्यन्वयन हुनेमा आशंका उब्जिएको थियो, अन्ततः त्यही आशंका सत्यमा परिणत भएको छ ।’

प्लाष्टिक प्रतिबन्धित क्षेत्र घोषणा भएसँगै वीरगञ्जका व्यवसायी पनि अतालिएका थिए । हरेक सामानलाई  प्लाष्टिककै झोलामा प्याक गरेर बेच्नु परीरहेको अवस्थामा त्यस्तै सहज र सस्तो विकल्प के हुन सक्छ भन्ने अलमलमा परेको वीरगञ्जको माईस्थानस्थित किराणा व्यवसायी ओमकुमार गुप्ताको भनाई छ । उनी थप्छन्, ‘हामीलाई प्लाष्टिक जस्तै सहज हुने अनि सस्तो पर्ने विकल्प देखाईदिए मात्रै यो घोषणाले सार्थकता पाउन सक्छ ।’ वीरगञ्जको रानीघाटको खुद्रा व्यवसायी प्रकाश गुप्ताले पनि ओमकुमारको भनाईमा सहमति जनाएका छन् । उपभोक्ताहरुले आफै झोला बोकेर ल्याउने बानीको विकास गर्नुपर्नेमा गुप्ताको जोड छ । 

घरबाटै झोला बोकेपनि एउटै झोलामा धेरै सामान राख्दा समस्या हुन सक्ने भन्दै प्लाष्टिकजत्तिकै सहज अरु हुन नसक्ने वीरगञ्जको रेशमकोठीस्थित किराणा पसलबाट सामान खरिद गरीरहेका उपभोक्ता अशोक अमात्यको प्रतिक्रिया छ । 

पूर्व तयारीमा चुकेको र वैकल्पिक उपायको खोजी नगरेरै घोषणा गरेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी पनि स्विकार गर्छन् । प्लाष्टिकको प्रयोगले जसरी दीर्घकालिन प्रभाव पार्छ, त्यसरी नै यसलाई प्रतिबन्धित गर्न सके दीर्घकालिन उपलब्धी दिनेमा भने नगरप्रमुुख सरावगी विश्वस्त छन् । सरावगी भन्छन्, ‘महानगरपालिकाले उठाउने फोहोरमा झण्डै ५० देखि ७० प्रतिशतसम्म प्लाष्टिकजन्य फोहोर नै हुन्छ । त्यसले वातावरणलाई प्रदुषण बनाउनुका साथै हाम्रो जमिनको उर्वर शक्तिलाई नै विनाश गर्छ । तसर्थ यसलाई  गर्नै नसकेपनि यसको उपयोगमा बिस्तारै न्युनिकरण गर्दै जानुपर्छ ।’ 

कागज तथा कपडाको झोला प्रयोगमा जोड दिँदै प्लाष्टिकको झोला प्रयोगमा अटेर गर्नेलाई कारवाहीको दायरामा ल्याउने नियम बनाएर कार्यन्वयवन गर्नुपर्नेमा सरावगीको जोड छ । 

कालो पोलिथिन झोला बनाउन प्रोपेलिन, बेनजिन, फेनोल र इथिलिन जस्ता रसायन प्रयोग गरिएको हुन्छ । जसले क्यान्सर, एलर्जी, पेटको समस्या, दम लगायतका रोग निम्त्याउने जोखिम हुन्छ । अर्काेतिर प्लाष्टिक सड्न धेरै वर्ष लाग्ने, जलाउँदा हाइड्रोकार्बन र क्लोरोफोरोकार्बन नामक विषालु ग्याँस निस्कने भएकाले यसलाई निषेध गरिनुपर्ने आवाज उठ्न थालेको हो । मानिस, जीवजन्तु र वातावरणमा यसको असर देखिन थाल्यो । 

वातावरण मन्त्रालयले ३० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिकका झोलाको उत्पादनमा प्रतिबन्ध लगाउन ‘प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका’ नै जारी गरेको छ । यद्यपी कार्यन्वयन एवम् अनुगमनमा भने सरकार पनि चुकेको स्पष्ट हुन्छ । 

अष्ट्रेलियामा चुरोटलाई निरुत्साहित गर्नका लागि हरेक वर्ष त्यसको मूल्य बढाईन्छ । त्याहाँ १ बट्टा चुरोको अष्ट्रेलियन ४१ डलर पर्छ । जसको नेपाली झण्डै ३५ सय रुपैयाँ पर्न जान्छ । जसले गर्दा त्याहाँ चुरोटको सेवन अत्यन्तै कम मात्रामा हुने गरेको छ । यसर्थ मूल्य वृद्धि पनि निरुत्साहिको प्रभावकारी उपाय मान्न सकिन्छ । नीति निर्माताहरुले प्लाष्टिकको पनि मूल्य बृद्धि गरेमा उपभोक्ताहरु घरैबाट झोला बोकेर बजार जाने बानी बस्न सक्छ र यसले प्लाष्टिक निरुत्साहिन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । 

नेपालमै पनि भाटभटेनीसहितका अन्य केही व्यवसायीहरुले प्लाष्टिकको झोला प्रयोग निरुत्साहित गर्न झोला बापतको अतिरिक्त रकम लिने गरेका छन् । यसले गर्दा अतिरिक्त रकम तिर्न नपरोस् भन्नका लागि उपभोक्ताहरु आफै झोला लिएर जाने गरेका छन् । 

प्लाष्टिकको झोलाको सट्टामा कागज तथा कपडाबाट निर्मित झोलाहरूको उत्पादन हुन थाले पनि यो आम प्रयोगमा आउन सकिरहेको छैन । साथै अरु खालका झोला प्रयोग गर्न प्रेरित गर्ने अभियान पनि प्रभावकारी ढङ्गबाट सञ्चालन हुन सकेका छैनन् । वातावरणमैत्री विकल्पको रुपमा कागज तथा कपडाको झोला उत्पादनका लागि सहुलियत ऋण, तालिमहरुको व्यवस्थातर्फ पनि सरकारको ध्यान केन्द्रित भएमा केही हदसम्म प्लाष्टिकको प्रयोग कम हुने विश्वास गर्न सकिन्छ । जबसम्म उपभोक्ताहरुलाई आर्थिक रुपमा भार नपर्ने र वातावरणीय प्रभाव नहुने विकल्प दिन सकिदैन, तबसम्म प्लाष्टिक  अभियानले सार्थकता पाउन सक्दैन । 

Back to top