×

वीरगञ्ज । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा पर्सा जिल्लामा सवारी दुर्घटनाबाट ३९ जनाले ज्यान गुमाएका छन् । श्रावणदेखि चैतसम्मको अवधीमा जिल्लाभर भएका ५२९ वटा सवारी दुर्घटनामा परी ३३ जना पुरुष, पाँच जना महिला र एक जना बालिकाले ज्यान गुमाएका हुन् । 

पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने अहिलेको आर्थिक वर्षमा सवारी दुर्घटना बढेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १७७ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा ३८४ वटा सवारी दुर्घटना भए । जसमा ज्यान गुमाउनेको संख्या १० जनाले बढेर ३८ पुगेको छ । त्यस्तै गत आर्थिक वर्ष २०७९/८० मा भएका ४९८ वटा सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।

गत वर्ष २९ जना पुरुष, ५ जना महिला र ५ जना बालकले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए । त्यही वर्ष दुर्घटनामा परी ९३ जना गम्भिर घाईते भएका थिए । ४०६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए । 

चार आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा १०४ वटा मोटरसाइकल दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७८/७९ मा २८४ वटा मोटरसाइकल दुर्घटना भए । आर्थिक वर्ष २०७९/८० मा ३२६ वटा मोटरसाइकल दुर्घटना भएका थिए भने चालु आर्थिक वर्षको चैतसम्ममा ३७४ वटा मोटरसाइकल दुर्घटना भएका छन् । 

सवारी चाप र लापरवाही दुर्घटनाका कारण
सवारी साधनको चाप बढ्नुलाई दुर्घटनाको कारण मान्छन्, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा । उनकाअनुसार अहिले दुई पाङ्ग्रे सवारी साधनको चाप अत्यधिक बढेको छ । ‘घरघरमा व्यक्तिपिच्छे मोटरसाइकल वा स्कुटी छ, हाम्रो देशमा सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन सकियो भने केही हदसम्म दुर्घटनाको दर कम हुन सक्छ’, उनले यात्रा डेलीसँग भने । सवारी साधनको चापसँगै लापरवाही पनि बढ्दा दुर्घटनाको जोखिम बढेको उनको तर्क छ । 

प्रहरी निरीक्षक खतिवडाको बुझाईमा ट्राफिक नियम सम्बन्धी सचेतना जगाउने र सडक कालोपत्रे हुने क्रम बढ्दै जाँदा पनि दुर्घटनाको दर बढ्नुको कारण लापरवाही पनि हो । सवारी चालक एवम् नागरिकले बेवास्ता गर्ने र लापरवाही गर्ने गरेको उनको भनाई छ ।

व्यक्ति स्वयम जिम्मेवार भएर सतर्कताका साथ सवारी साधन चलाएमा दुर्घटनाको दर धेरै कम हुने उनको विश्वास छ । उनी भन्छन्, ‘हामी कहाँ अनुशासन भएन, सबै ठाउँमा ट्राफिक प्रहरी र प्रहरी पुग्न सक्दैन । व्यक्ति आफै जिम्मेवार हुने कुरा हो । हामीले चेकजाँच गर्ने पनि तपाईहरुकै सुरक्षाका लागि हो भन्ने कुरा अझै पनि बुझाउन नसकेको हो कि बुझेर पनि बुझ पचाएको भन्ने कुरा छुट्याउन गाह्रो छ ।’ 

उनले थपे, ‘यहाँकै व्यक्तिहरु पनि काठमाण्डौ वा विदेश गए भने ट्राफिक नियमको पालना गर्छन्, १५ मिनेट, आधा घण्टासम्म कुर्न सक्छन् । तर यहाँ २ मिनेट पनि कुर्न सक्दैनन् । भाग्न खोज्छन् ।’ ट्राफिक नियमको पालना गर्ने संस्कार विकास गर्नुपर्ने आवश्यक्ता उनले औँल्याए ।

पर्सा जिल्लामा ५० देखि ६० जना ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रण तथा सबै ठाउँको निगरानी गर्न नसकिने भएकाले व्यक्ति स्वयम जिम्मेवार हुनुपर्ने र जनप्रतिनीधि एवम् स्थानीय सरकारले सडक तथा सवारीको व्यवस्थापन गर्नुपर्नेमा ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जोड दिए । 


 

Back to top