×

वीरगञ्ज । ‘मैले सिन्दुर लगाएकै छैन, म कसरी गर्भवती हुन सक्छु ?’ वीरगञ्जकै एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई लाग्छ, ‘गर्भवती हुनका लागि बिहे भएको हुनुपर्छ र सिउँदोमा सिन्दुर लगाएको हुनुपर्छ ।’ पेट दुखेर पिडा भएपछि उनी चेकजाँच गराउन नारायणी अस्पताल पुगेकी थिइन् । चेकजाँचको क्रममा उनी गर्भवती भएको पाइयो । 

वीरगञ्जकै एक विद्यालयमा कक्षा ७ मा पढ्ने छात्रालाई पेट दुख्छ । पेट दुखेर असह्य भएपछि छात्राकी आमाले नारायणी अस्पतालकै बालरोग विशेषज्ञसँग देखाइन् । चिकित्सकले पनि जुकाको औषधी, भिटामीन लगाएका औषधी लेखेर पठाए । एक सातासम्म औषधीले पनि ठीक नभएपछि किशोरीकी आमाले नै भिडियो एक्सरे गर्न चिकित्सकलाई दबाब दिइन् । भिडियो एक्सरेको रिपोर्टअनुसार उनी १० हप्ताको गर्भवती थिइन् । 

कक्षा ८ मा पढ्ने अर्की छात्रा नारायणी अस्पतालको इमरजेन्सीमा पुगिन् । अघिल्लो दिन चिल्लो पिरो खाएको हुँदा पेट दुखेको भनेर आएकी उनी पूर्ण गर्भवती थिइन् । उनले सोही समयमै बच्चालाई जन्म दिइन् । 

माथि उल्लेख गरिएका कक्षा ६, ७ र ८ मा अध्ययनरत तीनै जना पात्रलाई प्रजनन स्वास्थ्य, महिनावारी तथा गर्भपतनका बारेमा कुनै जानकारी थिएन । नारायणी अस्पतालकी नर्सिङ् निरीक्षक हेमा थापाकाअनुसार विद्यालयमा प्रभावकारी रुपमा पढाई भएको छैन । उनी भन्छिन्, ‘कम्तीमा ७/८ कक्षामा पढ्ने विद्यार्थीलाई महिनावारी, प्रजनन स्वास्थ्यसँगै गर्भवती कसरी भइन्छ भन्ने बारेमा ज्ञान हुनुपर्ने हो ।’ 

नारायणी अस्पतालकै एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की ईन्चार्जसमेत रहेकी थापाले थपिन्, ‘यहाँ आउने अधिकांश किशोरीहरु पेट दुखेको, वान्ता भएको, यौनाङ्गबाट अत्यधिक रक्तश्राव भएको भनेर आउँछन् । कोही कोही भने सुरक्षित गर्भपतन गराउन भन्दा पनि बाहिरै मेडिकलहरुबाट औषधी खाएर धेरै ब्लीडिंग भएपछि आउने गरेका छन् ।’ 

पहिलेको तुलनामा सुरक्षित गर्भपतन गराउन आउनेको संख्या बढेको उनी बताउँछीन् । सुरक्षित गर्भपतन गराउन आउनेमा १३/१४ वर्ष उमेर समूहदेखि १९/२० वर्ष उमेर समूहका किशोरीहरु रहेको उनको भनाई छ । विद्यार्थीलाई प्रजनन स्वास्थ्यका बारेमा थाहा नहुनुमा शैक्षिक संस्थाको कमजोरी रहेको उनी बताउँछिन् ।

‘मैले वीरगञ्ज महानगरका केही सामुदायिक र निजी विद्यालयमा पुगेर बुझेको छु । जसमा अधिकांश विद्यार्थीले यस विषयमा केही पढाई नै नहुने गरेको बताए । स्वास्थ्य विषय पढाउँदा प्रजनन स्वास्थ्यको पाठ नै पढाइँदैन । यसले कसरी उनीहरु बुझ्न सक्छन् ?’ थापाले भनिन् । 

लैंगिक हिंसा सम्बन्धी १६ दिने अभियानका अवसरमा विभिन्न विद्यालय तथा कार्यक्रमहरुमा पुगेर ओसिएमसीका बारेमा जानकारी दिनेदेखि लिएर महिला हिंसा एवम् महिला स्वास्थ्यका बारेमा संविधानमा भएका कानुनी प्रावधानका बारेमा प्रशिक्षण दिने गरेको उनले बताइन् । यसले पनि धेरै जनाले यि व्यवस्थाका बारेमा थाहा पाउने गरेको उनको अनुभव छ । 

यसका अलावा युवा नामक संस्थाले वीरगञ्जमा सञ्चालन गरेको ‘युथ एक्सेस’ परियोजनाले पनि धेरै विद्यार्थीलाई सुरक्षित गर्भपतनसँगै बृहत्तर यौनीकता शिक्षाका बारेमा बुझ्न सघाउ पुगेको छ । यस परियोजनाअन्र्तगत ३ वर्षमा ३० जना युवाले वीरगञ्जका ५० बढी सामुदायिक विद्यालयमा पुगेर ३ हजार भन्दा बढी विद्यार्थीसमक्ष सुरक्षित गर्भपतन, बृहत्तर यौनीकता शिक्षा लगायतका विषयमा जनचेतना फैलाएको छ ।

युथ एक्सेस परियोजनाअन्र्तगत सुरक्षित गर्भपतनका बारेमा विद्यार्थीलाई सचेत बनाउँदै युथ च्याम्पियन।

साथै अहिलेको डिजिटल युगलाई मध्यनजर गर्दै ‘माई एबर्सन, माई च्वाईस’ नामक फेसबुक र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमार्फत पनि सचेतना फैलाउन काम गरीरहेको परियोजनाका वीरगञ्ज संयोजक आशु कुमार सर्राफले बताए । उनी भन्छन्, ‘विद्यालयमा भएका पाठ्यक्रमलाई मात्रै सही ढंगले अध्यापन गराउने हो भने धेरै जना यि विषयमा जानकार हुन्छन् । त्यसैले विद्यालय तहमै बढी जोड दिनुपर्ने आवश्यक्ता महसुस गरेर हामीले यो परियोजना पनि त्यसैअनुरुप सञ्चालन गरीरहेका छौँ ।’ 

सहमतीमै शारिरीक सम्बन्ध भएपनि जथाभावी रुपमा मेडिकलबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सको परामर्श बिना नै औषधीहरु किनेर खाने प्रवृतिलाई रोक्नुपर्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवले बताइन् । उनले भनिन्, ‘जथाभावी सिटामोल सरी गर्भपतन गराउने औषधीहरु उपलब्ध छन्, जसमध्ये अधिकांश गैरकानुनी औषधी पनि छन् । किनेभने कोही औषधी खाएर आउने सेवाग्राहीलाई हामीले माग्दा पनि बिल उपलब्ध नगर्नुले गैरकानुनी औषधी बेच्ने गरेको स्पष्ट हुन्छ ।’ 

गर्भपतन सम्बन्धी तालिम लिएका चिकित्सक र स्वास्थ्यकर्मीको परामर्शमा अनुमती प्राप्त स्वास्थ्य संस्थाबाट मात्रै औषधी दिने व्यवस्था गर्नुपर्ने माग गर्दै उनले सम्बन्धीत सरोकारवाला निकायले पनि अनुगमन र नियमन गर्नुपर्ने आवश्यक्ता औँल्याइन् । उनकाअनुसार सुरक्षित तरिकाले गर्भपतन गर्नका लागि अनुमती प्राप्त निकाय छन् भन्ने बारेमा सबैलाई जानकारी हुन जरुरी छ । त्यसका लागि स्थानीय सरकारसँगै अन्य निकायले सबैलाई सचेत बनाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिइन् । 

यो लेखा युवाको फेलोशिपमा तयार पारिएको हो ।

Back to top