×

वीरगञ्ज ८ भदौ । त्रिवेणी समूह अन्तर्गत बाराको लिपनीमालमा संचालनमा रहेको वनस्पति घिउ उद्योग अन्नपूर्ण भेजिटेबल्स प्रा.लि.ले ११ महिनाको अवधिमा साढे नौ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

यो उद्योगले आर्थिक वर्ष २०७७।७८ को जेठ मसान्त सम्ममा ९ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ मूल्य बराबरको घिउ,तेल बेचेको हो ।

११ महिनाको तथ्यांकको आधारमा त्रिवेणी समूहले यो उद्योगबाट वार्षिक ११ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको अनुमान गर्न सकिन्छ । स्वदेशी बजारमा खानेतेलको भाउमा भएको वृद्धिको कारण यो उद्योगको मुनाफा ह्वात्तै बढेको छ ।

त्यसैगरी पछिल्लो ४ वर्षको व्यापार वृद्धि दर ३६ प्रतिशत रहेको छ । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६।७७ मा अन्नपूर्ण भेजिटेबल्सको चालू आयमा २८ प्रतिशतले वृद्धि भएको थियो । २०७६।७७ मा चालू आय(अपरेटिङ इनकम) ६ अर्ब ९७ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

कूल वार्षिक कारोबारमा भारतीय बजारमा गरिने सोयाबिन तेल र खजुरको तेलको निकासी व्यापारले ४५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । कम्पनीले उद्योगको उत्पादन वृद्धिको लागी अल्पकालीन र दीर्घकालीन कर्जा समेत गरेर ३ अर्ब रुपैयाँ भन्दा बढीको बैंक कर्जा उठाएको छ ।

सन् १९८८ मा स्थापित यो कम्पनीले लिपनीमालस्थित उद्योगको उत्पादन वृद्धि र पूर्वाधारमा लगानी थप्नको लागी त्रिवेणी समूहले बैंक लिनको लागि केयर रेटिङ नेपालमार्फत् क्रेडिट रेटिङ गराएकोमा दीर्घकालीन ऋणको लागी केयर एनपि डबल बि प्लस र अल्पकालीन ऋणको लागी केयर एनपि एफोर प्लस रेटिङ पाएको छ ।

यो रेटिङगले मध्यमस्तरको जोखिम औंल्याउँछ । कुनै पनि व्यापार व्यवसाय वा योजनामा लगानी गर्दा कस्तो जोखिम हुनसक्छ र जोखिमको स्तर कति हुनेछ भन्ने अध्ययन गरेर रेटिङ एजेन्सीले गरेको मूल्यांकनको आधारमा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्छन् ।

केयर रेटिङका अनुसार अन्नपूर्ण भेजिटेबल्सले ६ करोड ९८ लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ अल्पकालीन कर्जाको लागी रेटिङ गराएको थियो ।

अन्नपूर्ण भेजिटेबल्समा ६० हजार मेट्रिक टन प्रशोधित भटमास(सोयाबिन),खजुर(पाल्मोलिन) र सूर्यमूखी(सनफ्लावर) तेल, ७ हजार मेट्रिक टन वनस्पति घिउ र १० हजार मेट्रिक टन तोरी तेल उत्पादन क्षमता छ । अन्नपूर्ण भेजिटेबल्सले अमृत,सनस्टार र रानी ब्राण्डमा तेल उत्पादन र बिक्री गरिरहेको छ ।

Back to top