वीरगञ्ज । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको विरोध गर्दै शनिवार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दल तथा नागरिक अगुवाहरूले आपत्ति जनाउँदै आएका छन् । सोही विषयलाई लिएर श्रम संस्कृति पार्टीले ‘खबरदारी सभा’ आयोजना गर्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन र गैरजिम्मेवार भएको आरोप लगाएका छन् । पार्टीका नेताहरूले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति फिर्ता लिनुका साथै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीले माफी नमागेसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘संसद्मा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर’, ‘सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन, कसैको कठपुतली नबन!’, ‘नेपाली माटोको रक्षा गर’, ‘राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’, ‘लम्पसार कूटनीति होइन, स्वाभिमानको अडान राख’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
श्रम संस्कृति पार्टीले राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर रहेको भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।