वीरगञ्ज । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ । सङ्घको शुक्रवार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श र सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो ।
नयाँ मूल्य सूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठुलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी ३,००० रुपैयाँ कायम गरिएको छ । यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब प्रतिगोटा २५ रुपैयाँ पुगेको छ ।
सङ्घले सबै व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव, बढ्दो उत्पादन लागत तथा बजार मागमा वृद्धि भएकाले नयाँ समर्थन मूल्य निर्धारण गर्नुपरेको बताए ।
पछिल्लो एक महिनामा अण्डाको मूल्य उल्लेखनीय रूपमा बढेको छ । वैशाख २४ गते एक्सएल अण्डाको मूल्य २० प्रतिशतले बढेर प्रतिक्रेट ४६५ रुपैयाँ रहेकामा हाल ५६० रुपैयाँ पुगेको छ । सोही अवधिमा ठुलो अण्डाको मूल्य ४९० रुपैयाँबाट ५४५ रुपैयाँ, मिडियम अण्डाको ४०० रुपैयाँबाट ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २,३०० रुपैयाँबाट ३,००० रुपैयाँ पुगेको छ ।
सङ्घका अनुसार पछिल्ला केही सातादेखि उत्पादन घट्नु र बजार माग बढ्नुले मूल्यमा सुधार आएको हो । दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ्दै जाँदा मूल्य समायोजन आवश्यक भएको अध्यक्ष पोखरेलले बताए ।
हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९.१२ रुपैयाँ पर्ने गरेको जनाइएको छ । नयाँ समर्थन मूल्य लागू भएसँगै किसानले लागत नजिकको मूल्य पाउन थालेका छन् । लामो समयपछि बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको सङ्घको भनाइ छ ।
पर्यटक आगमनमा वृद्धि, सीमा क्षेत्रमा अण्डाको आयात तथा ओसारपसारमा कडाइ र आन्तरिक बजारमा बढ्दो मागले समेत मूल्य सुधारमा सहयोग पुगेको अध्यक्ष पोखरेलले उल्लेख गरे ।
यद्यपि उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग तथा नीतिगत समर्थन आवश्यक रहेको उनले जोड दिए । उत्पादन लागत घटाउने र बजारलाई व्यवस्थित बनाउने उपाय अवलम्बन गर्न सके हालको मूल्य अवस्था कायम राख्न सकिने सङ्घको विश्वास छ ।