×

वीरगञ्ज ७ भदौ । पूर्व पश्चिम राजमार्गको पथलैयादेखि कमला नदीसम्मको स्तरोन्नती गरिने भएको छ । सडक विभागले १३० किलोमिटर लामो सडकको स्तरोन्नतीको लागी प्राविधिक डिजाइन तयार पार्नको लागी सडक विभागले युरोपेली मुलुक स्पेन र भारतीय कम्पनीको ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्का लगाएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको यो खण्डले प्रदेश २ अन्तर्गतको पर्सा जिल्लाबाहेक बारा, रौतहट, सर्लाही,महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लालाई जोड्छ ।

हालको दुई लेन सडकलाई चार लेनमा स्तरोन्नती गरिएपछि यो राजमार्ग खण्ड वीरगंज–पथलैयाँ राजमार्ग खण्ड जतिकै फराकिलो हुनेछ । र जाम नहुने भएकोले पूर्व पश्चिमको यात्रा समयावधि छोट्टिनेछ ।

अहिले मुश्किलले दुई लेन रहेको यो खण्डमा एक पटकमा दुबैतर्फबाट सवारी आउजाउ गर्न कठिनाई हुने गरेको छ भने कतिपय ठूला पुलहरुमा आलोपालो गरेर ठूला सवारी साधनहरु आरपार गर्नुपर्ने अवस्था छ ।

राजमार्गको स्तरोन्नती गर्न लागिएको हुँदा राजमार्गको क्षेत्र ओगटेर विशेषगरी राजमार्ग छेउछाउको शहरी र बजार क्षेत्रमा निर्माण गरिएको पक्की संरचनाहरु हटाइने सडक विभागले जानकारी दिएको छ ।

चन्द्रनिगाहपुर, हरिऔन, बर्दिवासको साथै सिराहा र सप्तरी जिल्लामा पर्ने राजमार्ग खण्डको बजार क्षेत्रमा सडक खण्ड अतिक्रमण गरेर भवन निर्माण गरिएको हुँदा भत्काइने भएको छ ।

त्यसैगरी चारकोसे पर्सा वन्यजन्तु आरक्ष अन्तर्गतको जंगल क्षेत्रको साथै राजमार्ग छेउछाउमा सडक सीमामा पर्ने जंगलको रुख समेत ठूलो संख्यामा फँडानी हुने भएको छ । सडक विभागका अनुसार स्पेन र भारतीय संयुक्त लगानीको एपटिसा सर्भिसियस डि इनजेनेरिया एण्ड एसटीयुपि कन्स्लट्यान्ट प्रा.लि. जेभिलाई ९ लाख ८१ हजार अमेरिकी डलर अर्थात् १० करोड ५० रुपैयाँमा विस्तृत प्राविधिक डिजाइन तयार पार्नको लागी ठेक्का लगाइएको हो ।

हाल मुश्किलले दुई लेनको रहेको पूर्व पश्चिम राजमार्गको स्तरोन्नती गरेर चार लेन बनाउने तयारी रहेको छ । प्राविधिक डिजाइनको आधारमा स्तरोन्नती गर्न लाग्ने खर्चको अनुमान गरिनेछ । र पुनः एशियाली विकास बैंकबाट सरकारले ऋण लिएर निर्माण कार्य गर्नेछ ।

अहिलेको लागतका आधारमा अनुमान गर्दा कञ्चनपुरदेखि पथलैयासम्म राजमार्ग खण्ड स्तरोन्नती गर्न करिब ५० अर्ब रुपैयाँ खर्च लाग्नेछ । यसअघि सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्मको ८७ किलोमिटर लामो सडकलाई चार लेनमा स्तरोन्नती गर्ने कार्य भइरहेको छ ।

यो सडक स्तरोन्नतीको लागी २९ अर्ब ४८ करोड रुपैयाँ लगानी हुने भएकोमा ागी एशियाली विकास बैंकले नेपाल सरकारलाई २० अर्ब ७० करोड रुपैयाँ(१८ करोड अमेरिकी डलर) ऋण उपलब्ध गराएको छ । सन् २०२२ सम्ममा यो राजमार्ग खण्डको निर्माण कार्य पुरा गर्ने योजना रहेको भएपनि कोरोनालगायतको कारणले निर्माण समयावधी प्रभावित हुने भएको छ । पूर्वको मेचीदेखि सूदरपश्चिमको कञ्चनपुरसम्म १०२७ किलोमिटर लम्बाईमा पूर्व पश्चिम राजमार्ग फैलिएको छ ।

Back to top