×

वीरगञ्ज १६ सावन । कोरोना महामारी र राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायमा नयाँ वैदेशिक लगानी खस्किएको छ।

उद्योग विभागले हालै जारी गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक लगानीको प्रतिबद्धतामा गिरावट आएको छ। आर्थिक वर्ष २०७७/७८ मा कूल ३२ अर्ब २ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। आर्थिक वर्ष २०७६/७७ मा ३७ अर्ब ८० करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको थियो।

आव ७६/७७ मा साना मझौला र ठूला गरी २२३ वटा उद्योगमा वैदेशिक लगानीको सम्झौता भएको थियो। यो मध्ये १६५ साना,८३ मझौला र ९ ठूला उद्योग थिए। आ.व. ७७/७८ मा साना १७१, मझौला र ठूला ६-६ वटा समेत जम्मा १८३ वटा उद्योगमा वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। अघिल्लो आवमा वैदेशिक लगानीको प्रतिबद्धता जनाएका विदेशी लगानीकर्ताले १० हजार ८ सय ३९ जनालाई रोजगारी दिने जनाएकोमा गत आर्थिक वर्षमा ५ हजार ८ सय ३३ जनालाई मात्र रोजगारी दिने गरी विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जानकारी दिएको छ।

त्यसैगरी आव ७६/७७ मा स्वदेशी र विदेशी समेत गरी कूल २७७ नयाँ उद्योगमा १ खर्ब ५२ अर्ब रुपैयाँ लगानी गर्ने स्वीकृति प्रदान गरिएको थियो। आव ७७/७८ मा २०३ वटा उद्योगमा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी गर्न स्वीकृति दिइएको छ। संख्यात्मक रुपमा नयाँ उद्योगको दर्तामा ह्रास आएको भएपनि लगानीको हिसाबले वृद्धि भएको छ। तर अघिल्लो आवमा कूल रोजगारी सिर्जनामा१७ हजार ३ सय ८८ लाई रोजगारी दिने प्रस्ताव गरिएको थियो भने गगर आवमा जम्मा११ हजार ८ सय ३३ जनालाई रोजगारीको प्रस्ताव लगानीकर्ताले गरेका छन्।

उद्योग विभागले गत आवमा १ अर्ब २८ करोड ५० लाख रुपैयाँ निर्यात अनुदानको लागि उद्योगहरुलाई सिफारिश गरेको छ। अघिल्लो आवमा निर्यात व्यापार खस्किएको हुुँदा जम्मा ९० करोड रुपैयाँ निर्यात अनुदानको सिफारिश गरिएको थियो।

Back to top