×

वीरगञ्ज १५ सावन । निर्माण परियोजनाले गति पाएपछि फलामजन्य वस्तुको उत्पादन उल्लेख्यरुपमा वृद्धि भएको छ।

कोरोना महामारीको कारण सामान्य अवस्थाभन्दा फलामे निर्माण सामाग्री डण्डी, तार, पोल,पाइप, जस्तापाताको उत्पादनमा ह्रास आएको भएपनि अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापारमा सुधार आएको छ।

वीरगन्ज पथलैया औद्योगिक करिडरमा संचालनमा रहेका ठूला फलाम उद्योगहरुको जगदम्बा स्टील, हुलास स्टील, नारायणी इस्पात, हामा आइरन, हिमाल आइरन उद्योगको कारोबार औसत भन्दा कम भएपनि साना फलाम उद्योगको उत्पादन ठप्प प्रायः रहेको छ। गम्भीर रुपमा संक्रमित कोरना संक्रमितलाई उपचारको समयमा समेत प्रयोग हुने आवश्यक अक्सिजन ग्याँसको अभाव भएपछि फलाम उद्योगले करिब एक महिनासम्म आफ्नो उत्पादन नियमित राख्न अक्सिजनको प्रयोग गर्न पाएका थिएनन्। फलामको कच्चा पदार्थलाई प्रशोधन गरेर तयारी उत्पादन तयार गर्न अक्सिजन ग्याँसको आवश्यकता हुन्छ।

वीरगंज भन्सार नाकाबाट फलामजन्य उत्पादनमा प्रयोग हुने अर्द्ध प्रशोधित कच्चा पदार्थको  रुपमा प्रयोग हुने एमएस बिल्लेट र एचआरसिट(हट रोल्ड सिट)को आयातमा वृद्धि भएको छ। डण्डी (छड), फलामको भारी संरचना(छाना अड्याउने, घरको भित्रि संरचना बनाउन, विद्युत प्रशारणलाइन, सब स्टेशन) को उत्पादनमा प्रयोग हुने एमएस बिल्लेटको आयात परिमाण ४२ प्रतिशतले बढेको छ।  भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कूल १ लाख ७५ हजार ९ सय ३६ मेट्रिक टन परिमाण एमएस बिल्लेटको आयात भएको छ।आयात परिमाण  ४२ प्रतिशतले बढ्दा आयात मूल्य ८२ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा फलामखानी प्रशोधन र उत्पादन संकुचित भएपछि फलामको कच्चा पदार्थको मूल्य ‌बढेको थियो। अहिले उत्पादन पुनः शुरु भएकाले बिस्तारै मूल्य ‌घट्न थालेको छ।

त्यसैगरी फलामको पाता,चारकुने पाइप उत्पादनमा प्रयोग हुने एचआरसिटको आयातमा ८३ प्रतिशतको बढोत्तरी भएको छ। गत आर्थिक वर्षमा कूल ६२ हजार ७ सय ८९ मेट्रिक टन परिमाण एचआरसिटको आयात भएको थियो। १० अर्ब ३२ करोड ७९ लाख रुपैयाँ मूल्य बराबरको एचआरसिट आयात भएको छ।

यताबाट भने सिआरसिट( कोल्ड रोल्ड सिट)को निर्यात परिमाणमा पनि उल्लेखनीय रुपमा सुधार आएको छ। मुख्य रुपमा जस्तापाता,कारको बाहिरी संरचना, कन्टेनर, साइकल आदीको उत्पादनमा सिआरसिटको प्रयोग हुन्छ। २ हजार ७ सय २८ टन सिआरसिटको निर्यातमा १६ करोड  ५५ लाख रुपैयाँ यहाँको उद्योगले भित्र्याएका छन्।

Back to top