×

वीरगञ्ज १० सावन । प्रदेश २ को राजधानी धनुषामा प्रदेशकै सबैभन्दा ठूलो पोल्ट्री उद्योग स्थापना हुने भएको छ ।


कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको संयुक्त ऋण लगानीमा जनकपुर एग्रो फार्म प्रा.लि.को नामबाट धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ मा  निर्माणाधीन छ।

फार्म हाउसमा ५१ हजार भन्दा बढी चल्ला उत्पादन क्षमता भएको दुईवटा सेड र १ लाख लेयर्स कुखुरा पाल्ने क्षमता भएको ५ वटा सेड निर्माण गरिने क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले उल्लेख गरेको छ । 

फार्म हाउसमा कुखुराको चल्ला उत्पादनको साथै जैविक मल र जैविक ग्याँस उत्पादन गर्ने प्लान्ट समेत निर्माण गरिने भएको छ। वार्षिक ८ हजार ७ सय २० मेट्रिक टन  जैविक मल र ८ सय किलोवाट ग्याँस उत्पादन क्षमताको प्लान्ट जडान गरिनेछ ।

यो फार्ममा १ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढी लगानी गरिदैंछ। यसमध्ये ३० प्रतिशत संस्थापकको तर्फबाट र बाँकी बैंक कर्जाबाट जुटाइनेछ। फार्मको शिलान्याश गत वर्ष मंसिरमा गरिएकोमा बैशाखसम्ममा पूर्वाधार निर्माणमा १९ करोड रुपैयाँ भन्दा बढी रकम‌ लगानी भइसकेको छ ।

Back to top