×

वीरगञ्ज ९ सावन ।  सवारी साधनको आयात हुने मुख्य नाका वीरगंज भन्सारबाट मात्रै ६८ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढी मूल्यको सवारी साधन र पार्टपूर्जाको आयात भएको छ।

३१अर्ब ६१ करोड ७४ लाख रुपैयाँ मूल्य बराबरको सवारी साधन आयात भएकोमा भन्सार राजश्व ३७ अर्ब १० करोड ४१ लाख रुपैयाँ समेत थप गर्दा सवारी साधनको खरिदमा भन्सार बिन्दूमै यति मूल्य खर्चिनु परेको हो। अघिल्लो आवमा २६ अर्ब ९० करोड रुपैयाँ बराबरको आयातमा ३० अर्ब ३३ करोड ४० लाख रुपैयाँ भन्सार राजश्व संकलन गरिएको वीरगंज भन्सार कार्यालयले जानकारी दिएको छ।

यसमा यातायात व्यवस्था विभागलाई दिनुपर्ने सवारी दर्ता, नामसारी दस्तुरको साथै निर्जीवन बीमा कम्पनीलाई तिर्नुपर्ने अनिवार्य बीमाशुल्क वापतको रकम समेत जोड्दा ठूलो अंक हुन आउँछ।

भन्सार कार्यालयका अनुसार सबैभन्दा धेरै राजश्व असुली हुने जीपकार भ्यानको आयात परिमाणमा सामान्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष ७६/७७ मा ६ हजार २ सय ८४ वटा आयात भएकोमा गत आर्थिक ७७/७८ मा ६ हजार २‌सय ९४ वटा जीप कार भ्यान आयात भएको छ।

अघिल्लो आवमा ६ अर्ब ५५ करोड ४२ लाख रुपैयाँ बराबरको जीपकार भ्यान आयात भएकोमा गत आर्थिक वर्षमा ६ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ।
त्यसैगरी आयात परिमाण र मूल्यको आधारमा सबैभन्दा बढी मोटरसाइकल भित्रिएको वीरगंज भन्सारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। मोटरसाइकलको आयात ह्वात्तै बढेर ७७ प्रतिशतको वृद्धि हुँदा १ लाख ६ हजार ९ सय पाँच वटा आयात भएको छ। मोटरसाइकलको आयातमा मात्र ९ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ।

मूल्यको हिसाबले तेश्रो ठूलो आयात ट्रक मिनी ट्रक भएको छ।१ हजार ७ सय ८० वटा ट्रकको आयातमा ३ अर्ब ८४ करोड ३० लाख रुपैयाँ बाहिरिएको छ। ट्रकको आयात परिमाणमा ३२ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी‌ गत आवमा  १८०० सिसी भन्दा बढी क्षमताको ट्रयाक्टरको आयात १३३ प्रतिशतले बढेको छ।३ अर्ब ७४ करोड ९० लाख रुपैयाँ बराबरको १२ हजार ७ सय १६ वटा ट्रयाक्टरको आयात भएको छ।

गत आर्थिक वर्षमा यात्रुबाहक सवारी बस, मिनीबसको आयात ६० प्रतिशत भन्दा बढी ह्रास आएको भन्सारको तथ्याङ्कमा उल्लेख छ।

Back to top